धनगढी विमानस्थलको स्तरोन्नती हुँदै : मन्त्री अधिकारी

विदुर खबर २०७५ असार ३१ गते ०:३७

कैलाली,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने गरी धनगढी विमानस्थलको स्तरोन्नतिको काम सरकारले गरिरहेको बताउनुभएको छ ।

Advertisement

आज विमानस्थल कार्यालयमा आयोजित अन्तरक्रियामा मन्त्री अधिकारीले भन्नुभयो, “छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने उद्देश्यले धनगढी विमानस्थलसहित विराटनगर, जनकपुर, नेपालगञ्ज र चन्द्रगढी विमानस्थललाई स्तरोन्नती गर्ने काम भइरहेको छ ।” पर्यटनको महत्वपूर्ण पूर्वाधारका रुपमा हवाई सेवाको सुविधा पर्ने उल्लेख गर्दै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि निजगढ, भैरहवा, पोखराका विमानस्थललाई पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निर्माण कार्य भइरहेको बताउनुभयो ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले विमानस्थलको स्तरोन्नतिका लागि केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले धनगढी विमानस्थलको स्तरोन्नती गर्ने विषय वर्षेनी हरेक सरकारले कुरा गर्ने भएपनि त्यसको व्यवहारमा कार्यान्वयन नगरिएको बताउनुभयो । कार्यक्रममा पर्यटन व्यवसायीद्वय संजय चौधरी र मायाप्रकाश भट्टले विमानस्थलको स्तरोन्नतिको लागि निजी क्षेत्रबाट भएको प्रयासका बारेमा जानकारी दिनुभएको थियो । झण्डै १२ वर्षअघि निजी क्षेत्रको पहलमा पहिलोपटक रकम समेत संकलन गरी यो विमानस्थलको स्तरोन्नतिको पहल शुरु गरिएको थियो ।

Advertisement

स्तरोन्नतिका लागि धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ । स्तरोन्नतीका लागि विमानस्थलको पूर्वतर्फको १४ कठ्ठा १५ धुर जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको विमानस्थल कार्यालयका प्रमुख छविसिं ठकुल्लाले बताउनुभयो । जापानी सहयोग नियोग जाईकाले विमानस्थल स्तरोन्नतीका क्रममा भिओआरडीएमई नामको उपकरण जडान गरेपछि केही समयदेखि विमानस्थलमा रात्रिकालीन समयमा पनि उडान सञ्चालन हुन थालेको छ । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको देशकै दोस्रो ठूलो धनगढी विमानस्थल हो । काठमाडौं–धनगढी–काठमाडौंसम्म दैनिक हवाई सेवाको सुविधा प्राप्त प्रदेश नं. ७ को एकमात्र यो विमानस्थलबाट हाल नेपाल वायुसेवा निगमका अलावा निजी क्षेत्रको बुद्ध एयरलाइन्स, सौर्य एयरलाइन्स र श्री एअरलाइन्सले हवाईसेवा सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया