वाग्मती प्रदेशको बजेट अधिवेशन सुरु

विदुर खबर २०७७ जेठ १२ गते २१:२४

मकवानपुर । वाग्मती प्रदेशको छैटौं बजेट अधिवेशन सोमबारबाट हेटौंडामा सुरु भएको छ ।

Advertisement

कोराना भाइरस संक्रमणका कारण देशमा जारी लकडाउनको अवस्थामा सुरु भएको प्रदेशसभा बैठकको सुरुवातमा विभिन्न पार्टीका संसदीय दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट सर्वसम्मत रुपमा निर्माण गर्नुपर्ने र कोरानाविरुद्ध एकभएर लड्न जरुरीरहेको औंल्याएका छन् । प्रदेशसभाका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशको आगामी बजेट सर्वसम्मत बनाउन माग गरे । उनले सबैको सल्लाह र सुझाव लिन सरकारलाई आग्रह गर्दै उनले सर्वसम्मतरुपमा बजेट पारित हुने अवस्था सिर्जनगर्नु अहिलेको आवश्यकता रहेको औंल्याए ।

‘सरकारले छाति फराकिलो बनाएर हामीसँग छलफल गर्ने हिम्मत राख्छ,’ उनले भने,‘सरकारले यस्तो हिम्मत राख्छ भने हामी पनि बजेटलाई सर्वसम्मत बनाउन सहयोग गर्छौं । यो सदनको साझा बजेट बनाउने विषयमा सरकारले सोचोस् ।’ मानिस बाँच्ने सवालमा बजेटको पहिलो सम्बोधन हुनु पर्ने भन्दै उनले आगामी बजेटमा सरकारले विशेष क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव दिए ।स्वास्थ्यको क्षेत्रमा ठूलो बजेट आवश्यक छ । यसमा प्रदेश सरकारले ध्यान दिनु पर्छ,’ उनले भने,‘सबै स्थानीय तहहरुमा स्वास्थयको पूर्वाधार र प्रविधि विकास गर्ने गरी बजेट दिइनु पर्छ । बलियो स्वास्थ्य केन्द्र बनाउनु पर्छ । जनशक्ति पनि पर्याप्त उपलब्ध गराइनु पर्छ ।’ कृषि, खाद्य, पूर्वाधार विकासलगायतको क्षेत्रमा पनि सरकारले उचित ध्यान दिनु पर्ने उनले बताए ।

Advertisement

 

कोरोना कोषमा रहेको ५० करोड रुपैयाँ परिचालन हुन नसकेको भन्दै उनले प्रदेश सरकारले कोरोनाको विषयमा प्रभावकारी काम गर्न नसकेको सांसद बानियाँले आरोप लगाए । ‘कोरोनाको परीक्षण केन्द्रमा किटको अभाव छ । किट खरिदमा प्रदेश सरकारले ध्यान दिनु पर्छ,’उनले भने,‘स्वाब परीक्षणमा अलमल नहोस । प्रदेश सरकार गैरजिम्मेवार बन्न भएन । संघीयता जनताले महशुस गर्नु पर्छ । संक्रमणको बेलामा प्रदेश सरकारको खोजी भइरहेको छ ।’ नेकपा सांसद अष्टलक्ष्मी शाक्यले प्राथमिकता हेरेर छलफल गर्न आग्रह गरिन् । सबै एकजुट भएर सर्वसम्मत ढंगले अघि बढ्न उनले आग्रह गरिन् । उनले कोरोना भाइरसको विषयमा सरकारले कुशल व्यवस्थापन गरेको कारण संक्रमण बढ्न नपाएको बताइन् । ‘कोरोना भाइरससँग हामी लडिरहेका छौं,’ उनले भनिन्,‘हामी जित्छौं । हामीले जसरी काम गरिरहेका छौं । हामी कुशल व्यवस्थापक हौं । सरकारले उत्कृष्ट काम गरेका छ ।’

Advertisement

 

उनले भारत सरकारलाई धेरै विवाद नगर्न आग्रह गर्दै प्रमाणसहित वार्तामा बस्न आग्रह गरिन् । उनले सीमा सुरक्षाको विषय संघीय सरकारको उच्च प्राथमिकतामा पर्नु पर्ने बताइन् । उनले प्रदेश सरकारबाट नागरिकलाई भरोसा दिलाइनु पर्ने माग गरिन् ।विवेकशील दलका सांसद रमेश पौडेलले प्रदेश सरकारलाई आफ्नो उपस्थिति देखाउने बलियो अवसरको रुपमा कोरोना महामारी भए पनि यसमा चुकेको बताए । उनले कोरोनालाई प्रदेश सरकारले आफ्नो भुमिका देखाउने गरी काम गर्न पनि आग्रह गरे । सांसद रिना गुरुङले प्रदेश सरकारको उपस्थिति नदेखिएको भन्दै संघीयताको आवश्यकताको विषयमा नै प्रश्न गरौं । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले कोरोनाको परीक्षणको दायरा बढाउन माग गरे । सांसद रिता माझीले कोरोना भाइरसको विषयमा प्रदेश सकारको भूमिका शुन्य देखिएको बताइन् ।

 

नयाँ नक्साले गौरवपूर्ण इतिहास कायम भयो : मुख्यमन्त्री पौडेल

प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल सरकारले जारी गरेको नयाँ नक्साले गौरवपूर्ण इतिहास कायम भएको दाबी गरेका छन् । मुख्यमन्त्री पौडेलले नेपाल सरकारले भारतबाट अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित सम्पुर्ण भू–भाग समेटेर नक्साजारी गरी कूटनीतिक माध्यामबाट अतिक्रमित भू–भागफिर्ता लिने प्रयास सुरु गरेको बताए ।

‘देश कोरोना महामारिको यो लडाँइमा होमिरहेको बेलाभारतले नेपालको भू–भागभित्र पर्ने लिपुलेक हुँदै मानसरोवर जान एकतर्फिरुपमा बाटो उद्घाटनपश्चात् राष्ट्रियताको मुद्धातर्फ आम नेपालीको ध्यानाकर्षण भएको छ ,’ उनले भने,‘हाम्रो देशको भू–भागमाथि भएको अतिक्रमणकुनै पनि देशभक्त नागरिक र सरकारलाई सहृय हुनै सक्दैन । सबै भू–भाग हामी फिर्ता लिन्छौं । नागरिकस्तरबाट सहयोग प्राप्त हुनुपर्छ । अब सरकारले कूटनीतिकरुपमा समेत पहल गर्न जरुरी रहेको छ ।’

उनले सम्बोधनको क्रममा कोरोना महामारीका कारण सरकारको प्राथमिकता बदलिएको बताएका छन् । प्रदेश सरकारले कृषि, स्वास्थ, शिक्षा र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको बताए । ‘सरकारको प्राथमिकता परिवर्तन भएको छ,’ उनले भने,‘यस अघि हाम्रो प्राथमिकता पूर्वाधार विकास नै रहेको थियो । तर, यो पटक महामारीका कारण प्राथमिकता परिवर्तन हुनेछ । हामीले हाम्रो नीति तथा कार्यक्रम र बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई विशेष प्राथमिकता दिनेछौं ।’

प्रदेश सरकारले ल्याउने कृषि र रोजगारी सम्बन्धी नीति प्रभावकारी हुने उनले बताए । प्रदेश सरकारले विदेशबाट आएका नागरिकहरुको उचित व्यवस्थापन गरिरहेको उनले बताए ।प्रदेश सरकारले स्थानीय तहलाई सहयोग र सहकार्य गर्दै स्वास्थ्य सामाग्रीको व्यवस्थापन, क्वारेन्टाइन, आइसोलेसन, स्वास्थ्यकर्मीको व्यवस्थापन, लकडाउनको व्यवस्थापन गर्दै आएको उनले बताए । उनले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भूमीकाको समेत प्रशंसा गरे । उनले संघीय सरकारले घोषणा गरेको लकडाउन र सबै सरकारको सुझबुझ पूर्ण कदमले महामारीको रुप नलिएको उनले दाबी गरे ।

प्रतिक्रिया