लकडाउन उल्लंघन गर्दै वाणिज्य संघले खुलाएको धादिङ बजार प्रशासनले बन्द गरायो

विदुर खबर २०७७ जेठ १२ गते २१:१८

नुवाकोट । उद्योग वाणिज्य संघ धादिङले लकडाउन उल्लंघन गर्दै खुलाएको जिल्ला सदरमुकाम धादिङ बजार २ घन्टामै स्थानीय प्रशासनले बन्द गराएको छ ।

Advertisement

व्यापारीहरु मर्कामा परेको कारण जनाउँदै संघले एकपक्षीय रुपमा आइतबारदेखि जिल्लाभरका सबैखाले दोकान पसल खोल्ने निर्णय गरेको थियो । शनिबार संघका जिल्ला अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले व्यापार नभएर व्यापारीहरुले भाडा र बैंक किस्ता तिर्न नसकेको भन्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म होटलबाहेक सम्पूर्ण पसल खोल्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले पारित नगर्दै बजार खोलेपछि निकै भीडभाड देखिएको थियो ।

सरकारले जेठ २० गतेसम्म लकडाउन तोकेको भन्दै यो निर्णयप्रति स्थानीय नागरिक समाज तथा नगरपालिकाका टोल सुधार समितिले विरोध जनाएका थिए । भारतबाट आएका १ सय ३३ जनालाई स्वास्थ्य परीक्षण नगरी सदरमुकाममै राखेको अवस्थामा बजार खोल्न नहुने भन्दै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको टोलसुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताए ।

Advertisement

कोरोना संक्रमणको जोखिम नघटेको र बजार पूरै खोल्नु घातक भएको स्थानीय स्तरबाट माग आएपछि अत्यावश्यक वस्तुका बाहेक अन्य पसल बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

 

Advertisement

प्रतिक्रिया