भारतमा थप दुई साता लकडाउन लम्बियो

विदुर खबर २०७७ वैशाख १९ गते २१:३२

एजेन्सी । कोरोना भाइरस(कोभिड–१९)को संक्रमणको फैलने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्बाउने निर्णय गरेको छ ।

Advertisement

भारतको गृह मन्त्रालयले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुई साताका लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । र, फेरि १५ अप्रिलमा दोस्रो चरणको लकडाउन गरिएको थियो । दोस्रो चरणको लकडाउन मे ३ मा सकिन्छ । संक्रमण फैलने क्रम जारी रहेपछि दोस्रो चरणको लकडाउन सकिनुअघि नै तेस्रो चरणको लकडाउन घोषणा गरिएको हो । शुक्रबार साँझसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्‍या ३५ हजार ४३ पुगेको छ भने एक हजार १ सय ५४ जनाको मृत्‍यु भएको छ । त्‍यस्तै संक्रमण पुष्टि भएकामध्‍ये ९ हजार ६८ जना निको भएका छन् ।

सबैभन्दा बढी संक्रमण महाराष्ट्र, गुजरात र दिल्लीमा देखिएको छ । शुक्रबार नै भारतको स्वास्थ्य मन्त्रालयले सक्रंमणको सघनताको आधारमा भारतका ७३३ जिल्लालाई रातो, सुन्तला र हरियो क्षेत्रमा वर्गीकरणसमेत गरेको छ । संक्रमण उच्च भएका १३० जिल्लालाई रातो, संक्रमण सीमित भएको र पछिल्ला दिनमा वृद्धि नदेखिएका २८४ लाई सुन्तला र पछिल्लो २१ दिनमा एउटा पनि संक्रमणको केस नदेखिएका जिल्लालाई हरियो क्षेत्र निर्धारण गरिएको छ । राजधानी दिल्लीका सबै ११ जिल्लालाई रातो क्षेत्र अर्थात् उच्च जोखिम वर्गीकरण गरिएको छ ।

Advertisement

 

लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई गन्तव्यमा पुऱ्याउनका लागि रेल सेवासमेत सुरु गरिएको छ । भारत सरकारले विभिन्न राज्यमा अलपत्र परेका आप्रवासी कामदारी, तीर्थयात्री, विद्यार्थी र पर्यटकहरुलाई लक्षित गर्दै विशेष रेल ‘श्रमिक ट्रेन’ सञ्चालन गरेको हो । शुक्रबारदेखि विभिन्न ६ वटा रुटमा रेल सुरु गरेर त्यसको सुरुआत गरिएको छ । भारत राज्य सरकारहरुले अलपत्र परेका आप्रवासी कामदारहरुलाई घर लैजान रेल सेवा सुरु गर्नुपर्ने माग गर्दै आएका थिए । पछिल्लो निर्णयले भारतभर अलपत्र परेका आप्रवासी कामदारहरुका लागि ठूलो राहत मिल्ने भएको छ ।

Advertisement

प्रतिक्रिया