धादिङमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी, २८ कैदीबन्दी रिहा

विदुर खबर २०७७ वैशाख १९ गते ७:५८

धादिङ । जिल्ला कारागार धादिङमा सजाय भोगिरहेका २८ जना कैदीबन्दी रिहा भएका छन् ।

Advertisement

महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड- १९) को संक्रमणबाट जोगिने उद्देश्यले जिल्ला अदालतको आदेशमा सामान्य घटनामा संलग्न कैदीबन्दीलाई छाडिएको कारागार कार्यालयका प्रमुख गंगालाल योगीले बताए ।

चोरी, सार्वजनिक मुद्दा, अभद्र व्यवहार, बहुविवाह, लागुऔषधलगायत सामान्य प्रकृतिका घटनामा संलग्न कैदीलाई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५५ मा रहेको प्रावधानबमोजिम छाडिएको उनले बताए ।

Advertisement

छुटेका कैदीबन्दीले भोग्न बाँकी रहेको सजायबापत प्रतिदिन तीन सय रुपैयाँका दरले रकम तिरेर ६ जना महिला, २२ जना पुरुष र ४ जना आश्रित बालबालिका छुटेका हुन् । २८ जनाले जरिवानाबापत नाै लाख २४ हजार नौ सय रुपैयाँ तिरेको जिल्ला अदालत धादिङले जनाएको छ । ३१ जनाले निवेदन दिएकोमा २८ जनाको फर्स्याेट भएको हो । तर, छुटेका उनीहरू अपराधमा पुनः संलग्न भएमा पहिलेको समेत थपिएर सजाय भोग्नुपर्ने मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५५ मा उल्लेख छ ।

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी 
कोरोनाको त्रास र अधिक कैदीबन्दीका कारण जिल्ला कारागारमा कैदी घटाउन थालिएको हो । एक सय ५० जनाको क्षमता रहेको कारागारमा अहिले तीन सय १९ जना कैदीबन्दी रहेको प्रमुख योगीले बताए । ‘लकडाउनपछि कैदी थपिएका छैनन् । तर, हिरासतबाट भने २५ जना थपिए,’ उनले भने, ‘तीन सय १९ जना कैदीबन्दीमध्ये १० जना महिला, एकजना बालिका, १६ जना भारतीयसमेत छन् ।’

Advertisement

क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भएको छ । उनीहरूको दैनिक जाँच तथा जटिल खालका रोग लागेकाहरूलाई उपचार गर्नसमेत समस्या भएको उनले बताए । कारागारमै जाँच गर्न एकजना अहेवको व्यवस्था छ । ‘तर, ६० वर्षभन्दा बढी उमेर भएकाहरूलाई दीर्घरोग लागेका कारण भन्नेबित्तिकै जचाउन समस्या देखिएको छ,’ उनले भने, ‘कोरोनाका कारण कतिपय अस्पताल जान मान्दैनन् । कतिपय अवस्थामा उनीहरूलाई लिएर जान आफैँलाई डर छ ।’

कोरोनाको संक्रमणबाट सुरक्षित राख्न आफन्तहरूसँगको भेटभाट बन्द गरिएको छ । तरकारीलगायतका खाद्यान्न पनि पखालेर मात्र ल्याउने गरेको प्रमुख योगीले बताए ।

नयाँपत्रिका दैनिकबाट ।

प्रतिक्रिया