जनप्रतिनिधिको सिफारिसमा गुडेका सवारीले लकडाउन उल्लंघन गरेको भन्दै सञ्चालनमा रोक

विदुर खबर २०७७ वैशाख १७ गते ८:३७
लकडाउनको समयमा निर्वाध रुपमा जिल्ला भित्रिएका वस ।

नुवाकोट । संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका जनप्रतिनिधिहरुले अलपत्र परेका यात्रुको उद्धारका नाममा लकडाउन उल्लंघन गरेको भन्दै त्यसलाई रोक्न प्रशासनले सोमबारदेखि मानिस ओसारपसारमा बन्देज लगाएको छ ।

Advertisement

प्रहरी र स्थानीय प्रशासनसँग समन्वय नै नगरी जनप्रतिनिधिहरुले आफूखुसी सवारी पठाएर मानिस ओसारपसार गर्न थालेपछि गृह मन्त्रालयले त्यसलाई नियन्त्रण गर्न आइतबार देशभका प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएको थियो । प्रशासनसँग समन्वय नै नगरी शनिबार विराटनगर महानगपालिकाले उपत्यका आउन यात्रु पठाएपछि गृह मन्त्रालयले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बिहान विशेष निर्देशन दिँदै थानकोटबाट प्रवेश रोक्न भनेको थियो ।

गृह मन्त्रालयले लकडाउन अवधिभर एक जिल्लाबाट अर्को जिल्लामा यात्रु ओसारपसार गर्न पूर्ण रुपमा बन्द गरिएको बताएको छ । गृहले विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकको उद्धारका लागि स्थानीय तह र जनप्रतिनिधिको समन्वयमा सञ्चालन भएका सवारी साधन गुडाउन पनि रोक लगाएको हो । देशभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आइतबार परिपत्र गर्दै लकडाउन अवधिभर ‘उद्धारका नाममा’यात्रु ओसारपसार गर्न प्रयोग गरिएका सवारी सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको थियो ।

Advertisement

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले लकडाउन उल्लंघन हुने सबै किसिमका गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको बताए । आइतबारको निर्देशनपछि सोमबारबाट देशभर मानिस ओसारपसार बन्द हुनुका साथै अत्यावश्यक सेवाबाहेकका सवारीलाई पास वितरण पनि बन्द गरिएको अधिकारीले स्पष्ट पारे । बसिरहेका स्थानबाट सुरक्षाकर्मी र प्रशासनको निर्देशन अवज्ञा गरेर निस्किए बाटोमा अलपत्र पर्नसक्ने भन्दै अलपत्र पर्नुभन्दा जो–जहाँ बसेका छन्, त्यही रहदा सर्वसाधारणलाई सहज हुने उनले बताए ।

 

Advertisement

‘कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दोक्रममा देखिन्छ, त्यसलाई मध्यनजर गरेर मानिसको आवतजावत नियन्त्रण गर्न कुनैकसरत बाकी नराख्न निर्देशन दिएका थियौं,’अधिकारीले कान्तिपुरसँग भने, ‘उपत्यका प्रवेश गर्न र अन्य स्थानमा पनि एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाइएको छ, सोमबार देशभरका प्रशासन र सुरक्षा निकायबाट आएको रिपोर्ट अनुसार पनि मानिस आवतजावत ठप्प भएको छ ।’

प्रतिक्रिया