‘कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन परीक्षण बढाउने’

विदुर खबर २०७७ वैशाख ४ गते ७:५७

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ ।

Advertisement

समितिको  सिंहदरबारमा बसेको १९औँ बैठकले कोरोना भाइरस सङ्क्रमणको अवस्था जोखिमयुक्त भएको र त्यसको दर पनि बढ्दै गएको हुनाले परीक्षणलाई तीव्रता दिने निर्णय गरेको हो । “कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएको छ, बैठकले परीक्षण, पहिचान र उपचारमा प्रभावकारी ढङ्गले अगाडि बढ्ने निर्णय गरेको छ”, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद विंडारीले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो, “सङ्ख्यात्मक रुपमा परीक्षण बढाउनका लागि स्वास्थ्यकर्मीका समूह र प्रतिबद्ध संस्थालाई परिचालन गर्ने निर्णय भएको छ ।” स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । हालसम्म १५ हजार बढीको ¥यापीड डाइग्नोष्टिक टेस्ट र स्वाब परीक्षण गरि सकिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा भएको बैठकले औषधिजन्य सामग्री र उपकरणको ल्याउँदा निजी क्षेत्रबाट आयात गर्न सहजीकरण गर्ने र स्वास्थ्य मन्त्रालय र मातहतको निकायबाट खरिद गर्ने प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ ।“सरकार–सरकारबीचबाट औषधि र औषधिजन्य उपकरण ल्याउने कार्यलाई जारी राख्ने र आजै चीनबाट सरकार–सरकारबीच सामान ल्याउन परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयले चीनका निकायसँग पत्रचार गरिसकेको छ”, सचिव विंडारीले भन्नुभयो, “औषधि ल्याउने विषयमा तीन चरणको भिडियो कन्फरेन्स गरेर आवश्यकता र चाहिएको विषयका बारेमा कुरा भइरहेको छ, लागतका बारेमा पनि छलफल भइसकेको छ ।”

Advertisement

बैठकले अतिआवश्यक सामान आपूर्तिलाई सहज राख्ने र सुरक्षा व्यवस्थामा कडाइ गर्ने व्यवस्थालाई समन्वयात्मक ढङ्गले सामान ढुवानीमा कतै अवरोध नगर्ने गरी भन्सार नाकामा सहज र सुरक्षित गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया