राहत वितरणलाई चुनाव प्रचारप्रसारको रुपमा हेर्नु गलत

विदुर खबर २०७६ चैत २६ गते १७:३३
रिना खनाल

                       रिना खनाल

कोरोना भाइरस संक्रमणका कारण आज विश्व समुदाय नै भयावह अवस्थामा छ। यसबाट कुनै देश अछुतो रहेको छैन र नेपाल पनि यस सन्त्रास चक्रभित्र परिसकेको छ।

Advertisement

चीनमा उत्पत्ति र त्यहींबाट संक्रमित हुँदै फैलिएको नोबेल कोरोना भाइरस (कोभिड –१९) नेपालको सरहदभित्र प्रवेश गरिसकेको छ। अहिले अमेरिका, युरोप लगायत संसारलाई नै नराम्ररी सताएको छ। विश्वभरमा मृत्यु हुनेहरुको संख्या ५० हजार भन्दा बढी उकालो लागिसकेको छ।

भाइरसको फैलावटलाई रोक्न नेपाल सरकारले देशव्यापी बन्दाबन्दी अर्थात् लकडाउनको आदेश जारी गरेको छ। नेपालको संविधानको धारा १७ को उपधारा २ को प्रतिबन्धात्मक दफा २ को ब्यवस्था अनुरुप संक्रामक रोगको माहामारी फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यको उच्च सतर्कताको लागि आवतजावतमा रोक लगाउने व्यवस्था रहेको छ।त्यही व्यवस्थाको आधारमा नेपालमा पनि बन्दाबन्दी लागू गरिएको हो।

Advertisement

स्वास्थ्य विशेषज्ञहरुले भयावह परिस्थिति भनिरहेको सन्दर्भमा ११ चैत देखि पुनः १८ गतेबाट दोश्रो चरण चैत २५ गते समाप्त हुने थियो। तर परिस्थिति सुधार हुन नसकिरहेको र विश्वभरको अनुभवका आधारमा लकडाउनलाई अरु एकसाता थपिएको छ। यस्तो अवस्थामा सबैको कार्य तालिकामा परिवर्तन आएको छ। धनीहरुमा मनोवैज्ञानिक समस्या आउन सक्नेछ एकातिर भने निम्न वर्गका लागि त छाक टार्नै अरु मुश्किल पर्नेछ।

आर्थिक स्थिति कमजोर भएका तथा दैनिक ज्यालादारीमा कार्य गरिरहेको परिवारको हालत कुन अवस्थामा रहेको होला भन्ने कुरा सबैले मनन गर्नु पर्छ  विशेष गरेर राज्यले। दिनभरी काम गरी बिहान र बेलुकीको छाक टार्न धौधौ भैरहेको अवस्था त त्यसै नै थियो, यसमाथि अरु यन्त्रणा थपिएको छ।मन एकदम अत्तालीएको छ।  बाच्न नसकिने पो हो कि भन्ने पिरलो थपिएको छ  साथै मन छियाछिया भएको छ। दुई साता लामो बन्दाबन्दीका कारण गरीब तथा असहाय तथा दैनिक ज्यालादारी मजदुर वर्ग गुजाराको समस्या भयावह हुँदैछ। स्थानीय सरकार तथा जनप्रतिनीधिहरुले राहत वितरण गरिरहेका छन्।

Advertisement

राहत वितरणको स्थितिलाई मध्यनजर गर्ने हो भने जनप्रतिनीधिहरुले आफ्नो राजनीतिक प्रभाव बढावाको रुपमा हेरिएको देखिन्छ।  साथै  नेताहरु गाउँ डुल्न थालेका सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ। यो एकदम नकारात्मक पक्ष हो।कोरोना भाइरसको महामारी र बन्दाबन्दीलाई  उनीहरुले चुनाव लक्षित प्रचारप्रसार गर्ने अवसरको रुपमा लिएको देखिन्छ। उनीहरुलाई चुनावको प्रसार जस्तै भ्याइनभ्याइ रहेको पाइन्छ।कोरोना भाइरसको विषयमा मनन गर्दै गर्दा १२ बैशाख २०७२ को भूकम्पमा वितरण गरिएको झलल सम्झना आउँछ। उक्त समयमा राहत धेरै पाउने आशमा एकै घरमा रहेका श्रीमान-श्रीमती अनि छोराछोरी छुट्टिएको भन्दै टिपाउने विकृति बढेको थियो।

एक दुई दिनको छाकले कुनै एक परिवारको जिन्दगी बच्न सक्छ। कुनै एकपक्ष मात्र लागेर यसको रोकथान गरेर सकिदैन। सबैको सहयोग हुनु आवश्यक छ।

एकै छाना मुनि एकै भान्छामा बसेको थाहा हुँदा पनि त्यो समयमा जनप्रतिनिधिहरुले भोटको आशमा त्यसको प्रतिकार गर्न नसकेकै कारण विकृति बढेको हो। हुनेखाने कै परिवारसमेत सरकारले दिने त हो भन्दै कुनै लाजै नमानी राहत लिनको लागि नाम टिपाउन दवाब दिइरहन्थे। अहिलेको महामारीको अवस्थामा पनि उही चाल देखिन्छ। लकडाउनका कारण समस्या परेको विपन्न परिवारलाई विवरण टिपाउने भनिए पनि राहत प्राप्त गर्ने होडबाजीका कारण तछाडमछाड देखिएको छ।

यसरी विवरण टिपाउन थालिए पछि तथ्यांक संकलन बास्तविक आउला त ?  सरकारले असंगठित संस्थामा कार्य गर्नेहरुको गुजारा चलाउन कठिन भएका परिवारहरुलाई राहत प्रदान गर्ने जानकारी हुँदै गर्दा पनि स्थानीय नेता तथा प्रतिनिधिहरुले बुझाउन नसकेको प्रस्ट छ। यो बेला सबै तहका सरकार विभिन्न कार्यविधि मार्फत रोकथामका उपायहरु अवलम्बन गर्नु पर्ने हो। दुर्भाग्यवश, त्यस्तो तत्परता रहेको पाइँदैन।राहतका हकमा वास्तविक प्रापकले नपाउने सम्भावना त्यतिकै छ। यसमा भ्रष्टाचार हुने अधिक सम्भावना रहने कारण न्यायोचित ढंगले हेर्नु पर्ने हुन्छ। भूकम्पको बेला नेता तथा कार्यकर्ताको साथमा कालोबजारी गर्नेहरु रातारात धनी बनेका हामीले देखेका नै छौं।

आजको समयमा यस्ता भ्रष्टाचारीहरुलाई समाजबाट बहिष्कार गर्ने हामी सबै नागरिकहरुको दायित्व हो। सरकार तथा प्रशासनलाई निस्वार्थ भावमा दैनिक ज्यालादारी तथा असहायहरुलाई राहत वितरणमा पाउनुपर्ने नागरिकहरुको नाम टिपाइ सहयोग गर्नु सबै नागरिकको कर्तव्य हो। यसमा हामी नचुकौं।एक दुई दिनको छाकले कुनै एक परिवारको जिन्दगी बच्न सक्छ। कुनै एकपक्ष मात्र लागेर यसको रोकथान गरेर सकिदैन। सबैको सहयोग हुनु आवश्यक छ।

अन्त्यमा,  कोरोना भाइरसबाट सुरक्षित रहन सजग र सतर्क रहनु नै नेपाल र नेपालीको लागि उत्तम विकल्प हुन्छ। जनप्रतिनिधि तथा आम नागरिकहरुले निस्वार्थ रुपमा कर्मचारीहरुलाई तथ्यांक संकलनमा सहयोग गर्नु पर्ने देखिन्छ। कर्मचारी तथा प्रशासनलाई डर त्रासमा राख्नु हुँदैन। राहत वितरण र परीक्षणमा सहयोग गर्नु उनीहरुको धर्म हो।

यो समय भयावह स्थितिको बेला कुनै पनि प्रतिनिधिहरुले चुनाव प्रचारप्रसारको रुपमा हेर्नु एकदम गलत कार्य हो। हामी सतर्कताका साथ एकै सोच र पारस्परिक सहयोग र सहकार्य साथ सहयोग गरेमा मात्र महामारीको संकटको सामना गर्न सक्छौं।

प्रतिक्रिया