सुदूरपश्‍चिममा कोरोना संक्रमण तीव्र

विदुर खबर २०७६ चैत २३ गते ८:२१

नुवाकोट । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप ३ जना संक्रमित भएको शनिबार पुष्टि भएको छ ।

Advertisement

भारतबाट आएका दुई र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको हो । यसअघि धनगढीका एक जनामा कोरोना संक्रमण भएको थियो । संक्रमित महिला तिनै व्यक्तिका भाउजू हुन् । अरू दुई युवाचाहिँ भारतको महाराष्ट्र र उत्तराखण्डबाट गत चैत १० गते नेपाल आएका थिए । यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।थप व्यक्तिमा संक्रमण फैलिएको खबरले सुदूरपश्चिममा त्रास बढेको छ । सुदूरपश्चिमबाट भारतमा रोजगारीका लागि गएकाहरू ठूलो संख्यामा फर्केकाले कोरोना संक्रमण भयावह बन्ने आशंकाले जनमानसमा त्रास बढेको हो ।

फागुन तेस्रो सातायता कैलालीको गौरीफन्टा नाकाबाट मात्रै १ लाख २४ हजार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७५ हजारभन्दा बढी व्यक्ति नेपाल फर्केका थिए । नाकाको हेल्थ डेस्क र सुरक्षा निकाय सम्बद्ध स्रोतका अनुसार उनीहरूमध्ये अधिकांश सुदूरपश्चिमका छन् ।

सुदूरपश्चिममै पहिलो संक्रमित देखिएका युवा दुबईबाट चैत ८ गते धनगढी आएका थिए । उनी तीन दिन ९ जना परिवारसँगै घरमै बसेका थिए । संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका सदस्यहरूको बिहीबार सेती प्रादेशिक अस्पतालमा थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार भाउजूको बाहेक परिवारका अन्य सदस्यहरूको रिपोर्ट प्राप्त भइसकेको छैन । धनगढीमा ११० जनाको स्वाब पठाइएकोमा ६९ जनाको मात्रै रिपोर्ट आएको निर्देशनालयका हेमराज जोशीले बताए ।

Advertisement

जोशीका अनुसार घरमै पुगेर संक्रमण पहिचान भएकी महिलालाई एम्बुलेन्सले अस्पताल ल्याएको थियो । हाल उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमित ३४ वर्षीय युवाको सुरुदेखि नै सोही अस्पतालमै उपचार भइरहेको छ । दुबईमा काम गर्दै आएका ती युवा चैत ७ गते फ्लाइट इमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए । दिल्लीबाट उनी त्यही दिन एयर बिस्ताराको उडानबाट दिउँसो २ बजे काठमाडौं आएका थिए । दोस्रो दिन दिउँसो १२ बजे बुद्ध एयरको उडानमा नेपालगन्ज आएका हुन् । नेपालगन्जबाट उनी महेन्द्रनगर जाने हाइसमा अत्तरिया झरेर घर आएका थिए । ‘घरमा बस्दा परिवारसहित थुप्रै नातेदार र आफन्तसँग उनले भेटघाट गरेका थिए,’ एक नातेदारले भने ।

चैत १४ गते उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि अस्पताल पुर्‍याउने नातेदार भाइसहित परिवारका ९ जना सबैलाई दोस्रो दिन जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा लिइएको थियो । परिवारका सबै सदस्य क्वारेन्टाइनमा गएपछि घरमा पशु चौपाया अलपत्र परेका थिए । पछि उनीहरूकै अनुरोधमा होम क्वारेन्टाइनमा बस्ने सर्तमा उनीहरूलाई चौथो दिन घर फर्काइएको थियो । घरमा बस्दा पनि उनीहरूमा कुनै लक्षण भने नदेखिएको परिवारका सदस्यहरूले बताएका छन् । ‘कुनै पनि लक्षण नदेखिएर पनि कोरोना संक्रमण भएको सुनेर हामी अचम्म परेका छौं,’ परिवारका सदस्यले भने ।

प्रतिक्रिया