प्रदेशसभाका कोरोना चर्चा : ‘आपत्कालीन स्थितिका लागि आवश्यक जनशक्ति तयार’

विदुर खबर २०७६ चैत ५ गते २१:०६

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसको संक्रमण बढ्न नदिन प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ ।

Advertisement

प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले यसप्रति प्रदेश सरकार पूर्णरुपमा तयारी हालतमा रहेको बताउनुभएको हो । प्रदेशसभा सदस्यहरुले कोरोनालक्षित विषय उठाएका थिए ।विशेष समयमा प्रदेशसभा सदस्यहरुले कोेरोनाको विषयमा छलफल गरेका थिए । संसद्मा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको प्रकोप र यसले निम्त्याउनसक्ने विपद्प्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । कोरोना भाइरसका विषयमा जनचेतनामूलक कामहरु भइरहेको बताउँदै उहाँले कोरोना भाइरसको जोखिम सम्भावितस्थलमा हेल्थडेस्क स्थापना गरिएको जानकारी दिनुभयो ।

भाइरसले निम्त्याउनसक्ने जनधनको क्षतिलाई मध्यनजर गरी आपत्कालीन स्थितिमा परिचालन गर्न आवश्यक जनशक्ति तयारी अबस्थामा राखिएको भन्दै कोरोना भाइरस देखिए उपचारका लागि आवश्यक व्यबस्था मिलाउन प्रदेशस्थित अस्पतालहरुलाई तयारी अबस्थामा राखिएको मुख्यमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । जोखिम भएका प्रदेश नाकाहरुमा थर्मल चेकको व्यबस्था गर्ने तयारी छ । ‘प्रदेश सरकारले संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि आआफ्नो कार्यक्षेत्रबाट काम गर्ने तयारी गरेको छ,’ उहाँले भन्नुभयो । प्रदेश सरकारले सशस्त्र प्रहरी बलसँग सहकार्य गरी ४० बेडको आइसोलेसन वार्ड तयार गर्ने योजनाअनुरुप अगाडि बढेको उहाँले बताउनुभयो ।

Advertisement

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले बागमती प्रदेशसभा बैठक स्थगन गर्न सांसद्ले माग गरेका थिए । प्रदेशसभाको बैठकको विशेष समयमा बोल्ने सांसद्हरुले संक्रमणको जोखिम हुनसक्ने भन्दै सभा सञ्चालन नगर्न सभामुखसँग माग गरेका हुन् । सांसद् न्हुच्छेनारायण श्रेष्ठले सरकारले ठूला सभा, सम्मेलन, जमघट जस्ता गतिविधि नगर्न आग्रह गरिरहँदा प्रदेशका सबै माननीय जनप्रतिनिधिहरु बैठक बस्नु जोखिमको हिसाबले उपयुक्त नहुने भन्दै सभाको बैठक स्थगन गर्न आग्रह गर्नुभयोे ।सांसद् रिता माझीले कोरोनाको नाममा व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी सुरु भएको भन्दै यसलाई नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया