धादिङ मालपोतमा घूससहित २ जना पक्राउ

विदुर खबर २०७६ फागुन ३० गते २१:११

धादिङ । अख्तियार दुरुपयोग अनसन्धान आयोगको टोलीले शुक्रबार दिउँसो धादिङ मालपोत कार्यालयमा गरेको स्टिंग अप्रेसनमा २ जना व्यक्ति घूससहित रंगेहात पक्राउ परेका छन् ।

Advertisement

कार्यालय खुले लगत्तै शुक्रबार ११ बजे पुगेको अख्तियारको टोलीले जग्गा रजिस्ट्रेसन फाँटमा करार सेवामा नियुक्त नीलकण्ठ नगरपालिका–३ निवासी सूर्य अधिकारीलाई नगद रकम दिँदै गरेको अवस्थामा भू–सेवा केन्द्रका लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो ।

स्थानीय सहकारी संस्था लिमिटेडको जग्गा फकुवा सम्बन्धी फाइलमा घूस मागेपछि लेखापढी व्यवसायी श्रेष्ठ मार्फत अधिकारीले १७ हजार ५ सय नगद बुझे लगत्तै अख्तियार टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो। रकम बरामद गरेको मुचुल्कामा अख्तियार टोलीले नीलकण्ठ नपा–३ का वडा अध्यक्ष होमनाथ रिजाललाई पनि साक्षी राखेको छ।

Advertisement

जिल्ला मालपोत अधिकृत पुरुषोत्तम भण्डारी गत २७ गते देखिनै बिदामा बसेका छन्। शुक्रबार भएको कारण ३ बजे बिदा हुनु पर्ने कार्यालय मध्यान्हदेखि नै कर्मचारीविहीन भए पछि काम भइसकेका सेवाग्राही पनि हस्ताक्षर नभएपछि अलमलमा परेका थिए। अख्तियारको छापा परेपछि निमित्त कार्यालय प्रमुख रोशन गिरीसहित सेवाग्राहीको काम छोडेर कर्मचारी गएपछि सेवाग्राहीले कर्मचारीविरुद्ध नाराबाजी समेत गरेका थिए । अख्तियार टोलीले नियन्त्रणमा लिएका दुवैजनालाई काठमाडौं लगिएको छ।

प्रतिक्रिया