कोरोना प्रकोप : नेपाली र भुटानीबाहेकलाई भारत प्रवेशमा रोक

विदुर खबर २०७६ फागुन ३० गते ७:४०

नयाँदिल्ली । कोभिड–१९ को संक्रमण विस्तारसँगै भारतले शुक्रबारबाट लागू हुने गरी विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । त्यस्तो रोक भिसा लिनुपर्ने मुलुकहरूका लागि मात्र भएकाले नेपालीले आउजाउ गर्न पाउनेछन् ।

Advertisement

भारतीय उच्च अधिकारीहरूको बुधबारको बैठकले शुक्रबार १२ बजेबाट लागू हुने गरी भिसा लिनुपर्ने मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । नेपाल र भुटानका नागरिकले भारत पस्न भिसा लिनुपर्दैन । भारतले तेस्रो मुलुकका नागरिकलाई हवाई मार्ग हुँदै आउन रोक लगाएको हो । कोभिड–१९ संक्रमणको शंका लाग्यो भने हवाई मार्ग हुँदै भारत आउने नेपालीले १४ दिन क्वारेन्टाइनमा बस्नैपर्छ ।

भारतले कोभिड–१९ संक्रमणको जोखिम घटाउन स्थल मार्गका प्रवेशबिन्दुहरूमा पनि कडाइ गरेको छ । नेपालतर्फ पनि पर्याप्त स्वास्थ्य परीक्षण सुविधासहित केही ठूला नाका मात्र सञ्चालन गर्ने तयारी छ । अन्य साना नाका बन्द गरिए रोजगारीलगायतका प्रयोजनका लागि भारत आउने नेपाली प्रभावित हुनेछन् । यसले तराईका ग्रामीण भेगका बासिन्दालाई ज्यादा असर पार्नेछ ।नेपाल–भारतबीचको १७५१ किलोमिटर खुला सीमामा औपचारिक रूपमा करिब दुई दर्जन नाका चलेका छन् । तीमध्ये पाँच प्रमुख नाका हुन् । दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले नाकामा स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै किसिमको अवरोध नभएको बताए ।

‘नेपाल र भारतका सम्बन्धमा अहिले जे व्यवस्था छ, त्यही निरन्तर छ कुनै अवरोध छैन,’ उनले भने । उनले दूतावासले भारतको पछिल्लो अवस्था र त्यसले पार्न सक्ने असरलाई अध्ययन गरिरहेको बताए ।काठमाडौंस्थित भारतीय दूतावासले पनि पछिल्लो निर्णयबाट हवाई तथा स्थलमार्ग हुँदै भारततर्फ यात्रा गर्ने नेपालीलाई असर नपर्ने जनाएको छ । दूतावासले जारी गरेको सूचनामा नाकामा स्वास्थ्य परीक्षणका क्रममा भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोभिड–१९ को लक्षण देखिए वा चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनीमध्ये कुनै एक मुलुकको १५ फेब्रुअरीपछि भ्रमण गरेको पाइए क्वारेन्टाइनमा राख्न सकिने उल्लेख छ । भारतले म्यानमारसँगको सीमा भने मंगलबारबाटै बन्दगरिसकेको छ ।

भारतको दिल्ली राज्य सरकारले संक्रमणको जोखिम घटाउन आगामी ३१ मार्चसम्म सबै विद्यालय, कलेज र सिनेमा हल बन्द गर्न निर्देशन दिएको छ । हालसम्म दिल्लीमा ६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । भारतभरमा भने ७३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १७ जना विदेशी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूको विदेश भ्रमणमा रोक लगाइएको जनाएका छन् ।

प्रतिक्रिया