बमकाण्डका दोषी पूर्वमन्त्री टक्ला सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

विदुर खबर २०७६ फागुन २९ गते २१:१०

नुवाकोट । जनकपुर बमकाण्ड र भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’लाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले बिगोको दोब्बर जरिवाना र ५ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ।

Advertisement

विशेषले १४ कराेड २५ लाख बिगाे र सोको दाेब्बर जरिवाना र ५ वर्ष कैदको सजायको फैसला बिहीबार सुनाएको हो। यसअघि फागुन २६ गते टक्लालाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद १९ करोड ४४ लाख ३८ हजार बिगो र सोही बराबर जरिवाना गर्ने फैसला विशेषले सुनाएको थियो। बम विस्फोटनमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका पूर्वमन्त्री टक्ला भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन्।

धनुषा जिल्ला अदालतको फैसलाले हाल नख्खु जेलमा रहेका उनलाई विशेषले सम्पत्ति शुद्धीकरणमा बिहीबार सजाय निर्धारण गरेको हो। विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सरुको इजलासले साहलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो।

Advertisement

बमकाण्डको मुद्दामा दोषी ठहर भइ जन्मकैदको सजाय काटिरहेका पूर्वमन्त्री टक्लाविरुद्ध २०७३ पुस २५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले र २०७४ चैत १६ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएका थिए। टक्लाविरुद्ध आयोगले साढे ३१ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने सम्पत्ति शुद्धीकरण विभागले पनि ३२ करोडको मुद्दा दायर गरेको थियो। विशेषले टक्लाको मुद्दामा फागुनको दोस्रो साताबाट अन्तिम सुनुवाइ सुरु गरेको थियो। धनुषा जिल्ला अदालतको फैसलाले थुनामा रहेका टक्लासहित उनकी श्रीमती र परिवारका सदस्यसहितको सम्पत्ति जफत हुनुपर्ने मागदाबी अख्तियारको थियो।

साहले गैरकानुनी क्रियाकलापबाट सम्पत्ति आर्जन गरेको र त्यसलाई लुकाउन अन्य १२ प्रतिवादीले साथ दिएको आरोप अख्तियारले लगाएको थियो। व्यवस्थापिका संसद्‍का सदस्य ‘सभासद’ तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री टक्लाले सार्वजनिक पद धारण गरेदेखि नै पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनयापन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।

Advertisement

विभागले २०७४ चैत २६ गते विशेष अदालतमा साहविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो। साहले डर धम्की देखाएर चन्दा र जबर्जस्ती असुलीमार्फत् सम्पत्ति आर्जन गर्ने गरेको दाबी विभागको थियो। साहले आर्जन गरेको सम्पत्ति आफन्त तथा सहयोगीहरुका नाममा हस्तान्तरण गरेको विभागको दाबी थियो।

टक्लाको बैंक खाताको विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेनको कारोबार भएको अन्य व्यक्तिको सम्पत्तिको अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्रभित्र बसोबास गर्ने निज साहको घर परिवारतर्फका सहयोगी र कामदारको नामनामेसीसहित विवरण प्राप्त भएको विभागको आरोपपत्रमा उल्लेख छ।

टक्लाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा स्रोतसाधन बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइरामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डे समेतका कूल १२ जनाको मिलेमतोमा लुकाएको दाबी विभागको छ।

प्रतिक्रिया