कम्युनिस्ट शासन दुईदिने घाम–छायाँ : नेता पौडेल
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट शासन दुई दिनको घामछाँया भएको टिप्पणी गरेका छन् ।
पूर्वी चितवनको रत्ननगरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिस्ट शासन जनतालाई झुक्याउने खेलमात्र भएकाले लामो समय नटिक्ने दाबी गरे ।
“कम्युनिस्ट शासन दुई दिनको घामछाँया हो, यो लामो समय टिक्दैन”, उनले भने ।
छलकपट गरेर जबरजस्ती कम्युनिस्ट शासन लाद्न खोजिएको भन्दै नेता पौडेलले वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसक्ने बताए । कम्युनिस्ट शासनको नाममा मुलुकमा सर्वसत्तावाद लागू गर्न खोजिएको भन्दै नेता पौडेलले त्यसलाई कांग्रेसले खुलेर विरोध गर्ने बताए ।
नेता पौडेलले केपी ओली नेतृत्वको सरकारले संवैधानिक निकायलाई कमजोर बनाएको बताए ।
संसद, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायको काममाथि हस्तक्षेप गरेर वर्तमान सरकार उनीहरुलाई कमजोर बनाउन खोजेको नेता पौडेलको आरोप लगाए । उनले भने, “भ्रष्टाचारीलाई कारबाही गर्ने निकाय नै नेताहरुसँग डराउनुपर्ने अवस्था लोकतन्त्र नभई नेतातन्त्र हाबी हुनु हो ।”
उनले भने, “सरकारले न्यायालयमा समेत हस्तक्षेप गरेको छ । अदालतले दोषीलाई कारबाही गर्न नपाउने यो कस्तो शासन हो ?”
नेता पौडेलले दुई तिहाईको दम्भ देखाएर ओली नेतृत्वको सरकारले संवैधानिक अंगलाई नियन्त्रण गरेको आरोप लगाए । “सबै डराउनुपर्ने अवस्था आएको छ । देश अब विधिको शासनभन्दा बाहिर जाँदैछ ।”
नेता पौडेलले संघीयताको कार्यान्वयनसँगै शक्ति विकेन्द्रीकरण भए पनि सरकारले नागरिकलाई त्यसको अनुभूति दिलाउन नसकेको बताए । “मुलुकमा प्रदेश सरकार गठन भइसक्दासमेत ओली नेतृत्वको सरकारले सबै शक्ति आफंैसँग राखेर अधिनायकवाद लाद्न खोजेको छ”, उनले भने ।
“कस्तो कम्युनिस्ट शासन स्थापित गराउन खोजिएको हो ? यसलाई टिकाएर देखाऊ, हामी हेर्न चाहन्छौं”, नेता पौडेलले कम्युनिस्ट शासन टिकाएर देखाउन चुनौती दिँदै भने ।
अर्को प्रसंगमा नेता पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा एउटा समूहको मात्र संरक्षकको रुपमा उभिएको आरोप लगाए । आफूले देउवालाई गुटको राजनीति नगर्न पटकपटक आग्रह गर्दा पनि केही नलागेको भन्दै सभापति देउवाले कांग्रेसको नाममा गुटको राजनीति गरेका कारण निर्वाचनमा कांग्रेस पराजित भएको बताए ।
सिद्धान्त अनुसारको आचरण नभएका कारण कांग्रेसले तीनै तहका निर्वाचन हार्नुपरेको धारणा नेता पौडेलको थियो ।
नेता पौडेलले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन कांग्रेस सच्चिनुपर्ने सुझाव दिए । उनले पार्टीलाई बलियो बनाउन न्याय, निष्पक्षता र पारदर्शिता हुन आवश्यक रहेको बताए । पाँच वर्षभित्रमा स्थितिलाई उल्ट्याउन कांग्रेसले जनताको भावनाअनुसार काम गर्नुपर्ने नेता पौडेलको भनाइ छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, बद्री पाण्डे, धनराज गुरुङ, कमला पन्तलगायतले मन्तव्य राखेका थिए ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष जनक रावलको अध्यक्षतामा उद्घाटन भएको अधिवेशनले संघीय ढाँचाअनुसार विधानलाई संशोधन गर्दैछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया