राजनीतिक प्रतिशोध दलित समुदायमाथि
बाजुरा, ६ वैशाख – बाजुराको गौमुल गाउँपालिका–४ का ४२ परिवार दलित समुदाय दलीय स्वार्थका कारण पीडित बन्दै गएका छन् ।
गाउँमा रहेका दुई पार्टीबीच २०७० पछि झगडा शुरु भएदेखि अहिलेसम्म दलित बस्तीका ४२ परिवारले शान्त वातावरणमा बस्न पाएका छैनन् भने रातिको समयमा दिसापिसाब गर्न बाहिर आउन समेत सक्दैनन ।
गाउँका गैरदलितको राजनीतिक झगडाका कारण दलित बस्ती मारमा परेका हो । दलित समुदायका बासिन्दालाई एमाले र काँग्रेस समर्थक पार्टीको छेउछाउ हिँड्न नपाइने भएको स्थानीय मंगल विकले बताउनुभयो ।
गाउँमा उब्जेको झगडाको बीउले उग्र रुप लिनुका साथै गाउँमा सञ्चालन हुँदै आएका विकास निर्माणका योजनामा पनि राजनीतिकरूपले अवरोध हँुदै आएको उहाँले बताउनुभयो । राजनीतिक कारणले गैरदलितहरु एकापसमा कुटपिट र अश्लील गालीगलोज गर्छन् त्यसको मार भने हामी दलितले खेप्नु परेको विकले भन्नुभयो ।
गैरदलितहरु मदिरा सेवन गर्दै गालीगलौज गर्ने, डुम कमारा भन्दै ज्यान मार्ने धम्की दिँदै आएको मंगलको गुनासो थियो । बालबच्चा पढाउनका लागि गाउँ छोडेर अन्यत्र जाने समेत कठिन छ । अँध्यारो हुनेबित्तिकै घरभन्दा बाहिर निस्कन नपाउने गरेको विकले बताउनुभयो ।
स्थानीय चुनावपछि झगडाले उग्र रुप लिँदै गएकाले अहिले आएर घरभित्रै दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको सोही वडाकी वडासदस्य बेलु कामीले बताउनुभयो । गाउँमा भएको अशान्तिले बालबालिका र श्रीमान्लाई कसरी बचाउने भन्ने महिलालाई दिनरात पिरलो हुने गरेको उहाँको भनाइ थियो
वडा सदस्य कामीले भन्नुभयो, “अहिले गाउँमै बस्न गाह्रो भएको छ । गाउँमा हुने प्रत्येक मेलाजात्रामा दलित भन्दै कुटपिट गर्ने गरेका छन् । ज्यान जोगाउन मस्किल छ ।” गएको पुस महिनामा दलित बस्तीका छजनालाई कुटपिट गरिएको थियो भने गत चैतमा आफ्ना जेठीलाई मरणासन्न हुने गरी कुटपिट गरेकाले अहिले उनको अवस्था नाजुक भएको उहाँको गुनासो थियो ।
राति आएर “डुम तिमीहरू एक्लै लड्न आउ, अब गाउँमा बस्न पाउँदैनौ जस्ता अभिव्यक्ति सुन्दै आउनुपरेको छ ” वडा सदस्य कामीको दुखेसो थियो ।
यस्तै श्रीमान्लाई कुटपिट गरेर हेरचाहमा बसेकी सोही वडाकी अैती विकले भन्नुभयो, “श्रीमान्लाई अपाङ्ग हुने गरी पिटेकाले घरबाट निस्कन सक्नुभएको छैन । गाउँमा कसैसँग कुभलो नचिताउने दैवजस्ता आफ्ना श्रीमान्लाई अपांग बनाएका छन् ।”
गाउँमा आएर डुमका बालबच्चा मार्छाैं भन्ने अभिव्यक्ति गैरदलितले दिने गरेकोे पीडा सुनाउँदै उहाँले पानी ल्याउने प्लाष्टिकको जर्किन काटेर त्यसैैमा घरका सबैले दिसापिसाब गर्ने र बिहान चर्पीमा फाल्ने गरेका छौँ भन्नुभयो ।
गौमुल गाउँपालिका–४ का वडाध्यक्ष वीरेन्द्र रोकायाले लामो समयदेखि गाउँमा रहेको गिफ्ट बाजुरा नामक गैरसरकारी संस्थाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएदेखिको विवादले झगडा बल्झिँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, काँग्रेस र एमालेबीचको द्वन्द्वले गर्दा सामाजिक खलल त भएको छ, विकास निर्माणका काममा पनि असर पुगेको छ, यसैकारण गौमुलको ४ र ५ वडामा रहेको घोगाला बगरमा रहेको योजनामा ठूलो बाधा पुगेकाले अहिले द्वन्द्व मिलाउने प्रयास भइरहेको छ ।
गाउँमा भएको द्वन्द्वलाई गाउँमै समाधान गर्नुको साटो राजनीतिक रुपमा बसेर जनप्रतिनिधिको दम्भ देखाउने गरेकाले आगोमा घ्यू थप्न लागेको आरोप लाग्न थालेको वडाध्यक्ष वीरेन्द्र रोकायाले बताउनुभयो ।
उक्त संस्थाको अध्यक्ष बन्नका लागि जनक रोकाया र बलबहादुर रोकायाबीच प्रतिष्पर्धा भएपछि एमाले समर्थक बलबहादुर रोकायाको नयाँ कार्यसमिति चयन भएको दिनदेखि नै झगडा शुरु भएको वडाध्यक्ष रोकायाले बताउनुभयो ।
भारतमा उपचारार्थ रहेका पीडित विसे विकले भन्नुभयो, घर निर्माण गरेको रु ५० हजार ज्याला माग्दा तँ डुमलाई रु २० हजारमात्र दिन्छु भन्दै घर मालिक मानबहादुर रोकायाले आफूलाई कुटपिट गर्न आफन्तलाई अह्राएको बताउनुभयो ।
मैले घर निर्माण गर्न काठको चिरानी गरेर निर्माण गरेको ज्याला नपाउनु के नियम हो भन्न नपाउँदै घर निर्माणका सहकर्मी मनबहादुर विक र घर मालिकले घरको तेस्रो तला जाने भ¥याङबाट दोस्रो तलामा धकेल्दै मरणासन्न हुनेगरी कुटपिट गरेको पीडित विकको भनाइ थियो ।
आफूलाई घरभित्रै दुवैजनाले ढाड भाँच्ने नियतले कुटपिट गरी राति ९ बजे कसैले नदेख्ने गरी खोलामा फालेको र भोलिपल्ट बिहान होसमा आएपछि चोटपटक लागेको थाहा पाएको विसे विकले गुनासो गर्नुभयो । रोकाया र विक दुवैजना लागेर कुटपिट गरी मेरो मोबाइल खल्तीबाट झिकेर टाढा राखिदिएको र ज्याकेटको खल्तीमा रक्सीका दुई बोतल राखेर मरेको जस्तै देखेर खोलामा फाली फर्केको उहाँको दाबी थियो ।
गाउँमा ज्यान मार्ने कार्यसमेत हुँदै गएकाले जिल्ला प्रहरी कार्यालय बाजुराले पटक पटक द्वन्द्व समाधान गर्नका लागि प्रहरी टोलीसमेत घटनास्थलमा पठाउने गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो ।
उहाँले केही व्यक्तिले गर्र्दा गाउँमा द्वन्द्व भएको हुँदा उक्त क्षेत्रको सुरक्षाका लागि प्रहरी टोली पठाउन परेको र उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको प्रहरी प्रमुख वलीले राससलाई जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया