सुशासन ल्याउन प्रमुख दल एकजुट हुनुपर्छः प्रदेश प्रमुख प्रसाई

विदुर खबर २०७६ माघ २९ गते १८:५२

नुवाकोट । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले मुलुकमा सुशासन स्थापनाका लागि प्रमुख दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

Advertisement

प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोहलाई आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार न्यूनीकरण र सुशासन स्थापनाका लागि प्रमुख दलहरुले आपसी मनमुटाव त्यागेर एकजुट हुनुपर्छ ।” प्रमुख प्रसार्इंले जनचाहना अनुरुप विकास निर्माणको कार्यलाई आगाडि बढाउन प्रदेश सरकारले सबै पक्षसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री डोरमणि पौडेलले कम्तीमा एउटा सामुदायिक विद्यालयमा एक जना हुने गरी प्रदेशका ११९ स्थानीय तहमा एक एकजना विद्यालय नर्सको व्यवस्था गरिएको उल्लेख गर्दै कृषि, पर्यटन, उद्योग विस्तारलगायत पशुपालन क्षेत्रलाई उच्च प्राथमिकताको साथ प्रदेशको १३ जिल्लामा ‘मुख्यमन्त्री नमूना कार्यक्रम’ सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले विकासको पूर्वाधार सडक निर्माण मात्रै नभई प्रदेशको कृषि, उद्योग, वन, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत् र सञ्चार क्षेत्रको विकास पनि भएकाले प्रदेश सरकारले यसलाई गम्भीरताका साथ कार्यान्वयन ल्याएको छ भन्नुभयो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाले विभिन्न ५१ वटा विधेयक पारित गरिएको र तीमध्ये ४८ वटा प्रमाणीकरण भएको उल्लेख गर्दै प्रदेशमा शान्तिसुरक्षा, सुशासन र आर्थिक समृद्धिका लागि एकीकृत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशभित्रका सीमित स्रोतसाधनलाई सदुपयोग गरी राष्ट्रिय गौरवको आयोजना, सडक सञ्जाल, कृषि, भूमि सुधारलगायत विभिन्न योजनालाई यसै चालु आवभित्र कार्यान्वयन गर्नेतर्फ अग्रसर रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश प्रमुख प्रसाईं र मुख्यमन्त्री पौडेलले दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ र मकवानपुरका छनोट भएका उत्कृष्ट गाउँपालिकाका प्रमुख र चितवनको माडी नगरपालिकाका प्रमुखलाई नगदसहित कदरपत्रद्वारा सम्मान गर्नुभयो ।

Advertisement

सो अवसरमा प्रदेश सरकारका विभिन्न कार्यालयका २० जना कर्मचारीलाई पनि नगद र प्रमाणपत्र प्रदान गरिएको छ । सार्क विजेता खेलाडीलाई नगदसहित सम्मान प्रदेश प्रमुख प्रसार्इं र मुख्यमन्त्री पौडेलले तेस्रो सार्क खेलकूद प्रतियोगितामा वाग्मती प्रदेशका विजयी खेलाडीलाई पनि नगद र प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो । सो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु एक लाख, ५० हजार र २५ हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको वाग्मती प्रदेश सरकारको सचिवालयका अधिकृत अशेष खड्काले बताउनुभयो । समारोहमा प्रदेश प्रमुख प्रसाईंले वाग्मती प्रदेश सरकारद्वारा प्रकाशित सरकारको दुईवर्षे कार्ययोजनाको पुस्तकको पनि विमोचन गर्नुभयो ।

प्रतिक्रिया