प्रथम पञ्‍चकन्या चेयरमेन कप शनिबारदेखि

विदुर खबर २०७६ माघ २३ गते ६:३९

नुवाकोट ।  पञ्‍चकन्या गाउँपालिकामा शनिबारदेखि ‘प्रथम पञ्‍चकन्या चेयरमेन कप भलिबल प्रतियोगिता’ सुरु हुँदै छ ।

Advertisement

स्थानीयस्तरमा खेल प्रवर्द्धन र खेलाडी पहिचान गर्ने उद्देश्यले पञ्‍चकन्या गाउँपालिकाको आयोजनामा भलिबल प्रतियोगिता हुन लागेको हो । खेल सोही गाउँपालिकाको वडा नम्बर २ मा रहेको कालिका मावि मिश्रगाउँमा हुनेछ। गाउँमा लुकेका खेलाडी पहिचान गरी उनीहरुको क्षमता विकासका लागि भलिबल प्रतियोगिता गर्न लागिएको पञ्‍चकन्या गाउँपालिका प्रमुख तेजबहादुर तामाङले बताए। ‘गाउँ–गाउँमा रहेका खेलाडीको खोजी गरेर खेलाडी उत्पादन गरी खेलको विकास गर्छौं,’ उनले भने।

प्रमुख तामाङका अनुसार माघ २८ गतेसम्म सञ्‍चालन हुने प्रतियोगिता उद्घाटन शनिबार दिउँसो पूर्वप्रधानमन्‍त्री एव‌ं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन्। त्यस्तै खेल समापनमा भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। प्रतियोगिता तयारीका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति, उपाध्यक्ष सीता खड्‌काको नेतृत्वमा अतिथि सत्कार र वडाध्यक्षहरुको नेतृत्वमा प्रचारप्रसार, मञ्‍च व्यवस्थापन लगायत उपसमितिहरु बनाइएको छ। प्रचारप्रसार उपसमिति सं‌योजक एवं वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनका अनुसार टिम दर्ताको लागि बुधबार अन्तिम समयसीमा हो। १२ वटा स्थानीय तह रहेको जिल्लाका तादी, दुप्चेश्वर, बेलकोटगढी, लिखुबाट खेलाडी सहभागी हुने निश्‍चित भइसकेको आयोजकले जनायो। प्रतियोगितामा प्रथम हुनेलाई शिल्ड, प्रमाणपत्रसहित नगद १ लाख, द्वितीयलाई ७५ हजार र तृतीय हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने छ। चेयरमेन कपमा २५–३० लाख रुपैयाँ बजेट लाग्ने अनुमान आयोजकको छ।

खेल व्यवस्थापनका लागि मंगलबार पालिकाभित्रका संघसंस्था, विद्यालय, क्याम्पसका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरिएको थियो। सहभागीहरुले गाउँपालिकाकै पहिचान र प्रतिष्ठा रहेको भलिबल प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका स्थानीय क्लब पञ्‍चकन्या जनकल्याण युवा समाजका कोषाध्यक्ष रामहरि भण्डारी जानकारी दिए। छलफलमा विभिन्‍न संघ संस्थाले खेलाडीको आवासका लागि म्याटिस्, कम्बल, कार्यक्रम व्यवस्थापनका लागि स्वागतद्वार निर्माण, यातायातको सुविधा उपलब्ध गराउने घोषणा गरेका थिए।

प्रतिक्रिया