गाउँमा मोटर बाटो पुगेसँगै रसुवाका स्थानीयबासि हर्षित

विदुर खबर २०७६ माघ २० गते १५:००

रसुवा । गाउँगाउँमा मोटर बाटो निर्माण हुन थालेपछि यहाँका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

Advertisement

पर्यटकीय क्षेत्र मानिएको लाङटाङ बाहेक रसुवामा कायम भएका स्थानीय तहका २७ मध्ये २६ वडाको गाउँगाउँमा सडक सञ्जाल जोडिएकाले स्थानीयवासीमा उमङ्ग छाएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभएको छ । स्थानीय तहअन्तर्गत नौकुण्ड गाउँपालिकामार्पत यार्सा तथा सरमथलीका क्षेत्रहरुमा ६४ किलो मिटर गाउँले सडक निमार्ण भई मोटर गुड्न थालेपछि यस क्षेत्रका बासिन्दा खुशी भएका उक्त गाउँपालिका अध्यक्ष नुर्पुसाङ्खबो घलेले उनुभएको छ । जिल्लाकै इतिहासमा यार्सा क्षेत्र दूरदराजमा रहेकोमा स्थानीय सरकार गठन भएपछि दु्रतरुपमा निर्माण भएको गाउँका सडकले उकालीओराली असहज गोरेटो बाटो हिड्न र डोकोनाम्लो बोक्ने अवस्थाको अन्त्य गरिदिएकाले गाउँले बासिन्दामाझ उमङ्ग छाएको लाङ्बु गाउँका समाजसेवी छेसाङदावा तामाङले जानकारी दिनुभएको छ ।

यार्सा क्षेत्र धेरै विकट भएकाले जनताको माग र चाहनाअनुरुप स्थानीय सरकार गठन भए लगतै सडक निर्माण कार्यलाई पहिलो प्राथमिकता दिई गाउँगाउँमा सडक सञ्जाल जोडिसकेको र दोस्रो चरणअन्तर्गत ठाडो खोलाहरुमा पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाइ सकिएको नौकुण्ड गापा अध्यक्ष घलेले बताउनुभएको छ । यसैगरी सदरमुकाम धुञ्चेको नजिक रहे पनि विकासमा पछाडि परेको हाकु क्षेत्रमा पहिलो पटक सडक निर्माण भएको छ । पहिलो चरणमा करिब ७०० घर परिवारलाई यातायातको सुविधा प्रदान गर्ने उद्देश्यले हाकुबेँसीदेखि ठुलोहाकुसम्म निर्माण भएको सडकअन्तर्गत हाकुबेँसीको त्रिशूली नदीमा पक्कीपुल निर्माण गर्ने प्रक्रिया अगाडि बढिरहेको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिनुभएको छ ।

Advertisement

विसं २०४२ सालमा नुवाकोटको त्रिशूलीदेखि बेत्रावती, कालिकास्थान, राम्चे, धुुञ्चे, भार्खु, स्याफ्रुबेँसी, गोल्जुङ, गतलाङ हुँदै सोम्दाङसम्म नेपाली सेनाबाट १०५ किलोमिटर सडक निर्माण भए पनि गाउँमा शाखा विस्तार हुन नसकेको ले स्थानीय तह गठनपश्चात गरिएका सडक निमार्णले गाउँको मुहार फेरिँदै गएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया