राष्ट्रिय गौरवका आयोजनामा आधा वर्षसम्म ‘लज्जाजनक’ खर्च !
नुवाकोट । चालु आर्थिक वर्षको आधा समय घर्किएको छ । यसबीचमा कूल विकास खर्च निकै कमजोर छ । अर्थात् सरकारले ६ महिनाको अवधिमा औसत १४ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । समग्र विकास खर्च पनि यस्तै दरमा छ ।
विकास खर्च कम हुनुमा ठूलो बजेट ओगटेर बसेका राष्ट्रिय गौरवका आयोजनाले अपेक्षित गति नलिनुसमेत हो । विज्ञहरु यसलाई गौरबका आयोजनाको ‘लज्जाजनक’ प्रगति भन्छन् ।यी प्रायः सबै आयोजना ठेक्का लागेर कार्यान्वयन चरणमा छन् , तर, पनि आधा वर्षसम्म यी आयोजनाको प्रगति निकै कमजोर छ । अर्थविद अच्युत वाग्ले राष्ट्रिय गौरवका भनिएका आयोजनालाई सरकारले त्यसअनुरुप व्यवस्थापन नगर्दा समस्या आएको बताउँछन् ।
‘यसको आर्थिक, प्रशासनिक र आयोजना (निर्माण)को व्यवस्थापन पनि गौरबका आयोजना जसरी नै गर्नुपर्यो, यो खालको व्यवस्थापनले त गौरबका आयोजना भनेर घोषणा गरेकै औचित्यपूर्ण भएन,’ उनी भन्छन्,’नामका मात्रै गौरबका अयोजना भनेर हुँदैन ।’वाग्लेले कतिपय गौरबका भनिएका आयोजनाहरु मूल्यांकन गरेर प्रदेश र स्थानीय तहलाई दिन सके अहिलेभन्दा बढी काम हुने बताए ।यस वर्ष सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि मात्र कूल १ खर्ब १ अर्ब रुपैयाँ छुट्याएको छ । त्यसमध्ये पूँजीगत खर्चमा ८५ अर्ब ७ करोड, चालु खर्चमा २ अर्ब १६ करोड र वित्तीय व्यवस्थापनमा १३ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यसमध्ये खर्च भने कूल १८ अर्ब ३२ करोड रुपैयाँ भएको छ । यो कूल विनियोजनको १८.१ प्रतिशत हो । खर्च गरेका आयोजनाको पनि ठूलो रकम मूआब्जा वितरणमा खर्च भएको छ ।महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ६ महिना अवधि (साउन-पुस)मा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलले सर्वाधिक रकम खर्च गरेको छ । माथिल्लो तामाकोसीले वित्तीय व्यवस्थापनतर्फ विनियोजित १ अर्बमध्ये ६६ करोड ६६ लाख खर्चेको छ । खर्चको दरका हिसावले तामाकोसी अघि देखिन्छ ।
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि यस वर्ष छुट्याइएको बजेट एक रुपैयाँ पनि खर्च भएको छैन । यसबाहेक पशुपति क्षेत्र विकास कोषले समेत ६ महिनाको अवधिमा एक रुपैयाँ पनि विकास खर्च गर्न सकेको छैन ।
तथ्यांक अनुसार कूल ८ अर्ब वित्तीय व्यवस्थापनमार्फत पोखरा विमानस्थललाई बजेट गएको थियो । ६ महिनामा ४ अर्ब ३ करोड ५५ लाख रुपैयाँ खर्च भइसकेको छ । यता हुलाकी राजमार्गमा पूँजीगत खर्चका लागि मात्र १३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये ६ महिनाको अवधिमा ३ अर्ब ७ करोड ५८ लाख रुपैयाँ खर्च भइसकेको छ ।
पुष्पलाल राजमार्ग (मध्यपहाडी)ले समेत औसतमा राम्रै खर्च गर्न सकेको छ । तथ्यांक अनुसार यो आयोजनामा कूल १२ अर्ब ११ करोड ४४ लाख विनियोजन भएकोमा २ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।
नेपाली सेनाले बनाइरहेको काठमाडौं-तराई मधेस फास्ट ट्रयाकमा कूल १४ अर्ब ८० करोड ५० लाख विनियोजन भएकोमा ६ महिनामा मात्र २४ करोड खर्च भएको छ ।
कुनमा कति भयो खर्च
आयोजना | विनियोजन (रु.) | खर्च (रु.) |
---|---|---|
बबई सिंचाई आयोजना | १ अर्ब ४९ करोड ८६ लाख | २९ करोड ५ लाख |
सिक्टा सिंचाई आयोजना | १ अर्ब ५२ करोड ३ लाख | ५१ करोड ३ लाख |
रानी जमरा कुलरिया सिंचाई आयोजना | २ अर्ब ४२ करोड ३४ लाख | ६६ करोड १४ लाख |
मेलम्ची खानेपानी आयोजना | ७ अर्ब ३८ करोड ९५ लाख | ३७ करोड ८३ लाख |
पशुपति क्षेत्र विकास कोष | ३५ करोड | – |
लुम्बिनी विकास कोष | १ अर्ब | २८ करोड ४२ लाख |
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम | १ अर्ब ७३ करोड ६९ लाख | २८ करोड ४६ लाख |
काठमाडौं-तराई मधेस फास्ट ट्र्याक | १५ अर्ब ७२ लाख | २९ करोड ९८ लाख |
पुष्पलाल राजमार्ग (मध्यपहाडी) | १२ अर्ब १९ करोड ९२ लाख | २ अर्ब ४८ करोड ६२ लाख |
उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालिगण्डकी र कोशी) | ५ अर्ब ९६ लाख | ९१ करोड ८० लाख |
हुलाकी राजमार्ग | १३ अर्ब ६३ करोड ७ लाख | ३ अर्ब १० करोड ४० लाख |
रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना | ७ अर्ब ६९ करोड ६९ लाख | १ अर्ब ७४ करोड ५७ लाख |
माथिल्लो तामाकोशी जलविद्यूत आयोजना | १ अर्ब (वित्तीय व्यवस्थापन) | ६६ करोड ६६ लाख |
दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना (गौतमबुद्ध विमानस्थल) | ३ अर्ब ३३ करोड ६४ लाख (वित्तीय व्यवस्थापन) | ४६ करोड ३३ लाख |
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल | ८ अर्ब (वित्तीय व्यवस्थापन) | ४ अर्ब ३ करोड ५५ लाख |
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, बारा | १ अर्ब ५० करोड (वित्तीय व्यवस्थापन) | – |
स्रोतः महालेखा नियन्त्रण कार्यालय
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया