‘नेवाः तामसालिङ’ नाम प्रस्ताव राख्न समेत पाएनन् !

विदुर खबर २०७६ पुष २७ गते १०:२०

हेटौंडा । प्रदेशसभामा प्रदेश ३ को नामका लागि एउटा मात्र प्रस्ताव दर्ता भएको छ । राजधानीमा भने हेटौंडाका साथै काभ्रेको धुलिखेलको पनि प्रस्ताव दर्ता भएको छ ।

Advertisement

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख विपक्षी नेपाली कांग्रेस राप्रपा र राप्रपा संयुक्तले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्न संयुक्त प्रस्ताव दर्ता गरेका छन् । यस्तै तीन सांसद भएको विवेकशील साझा पार्टीले भने प्रदेशको स्थायी राजधानी काभे्रलाई बनाउन प्रस्ताव दर्ता गरेको छ । स्वतन्त्र सांसद प्रेमबहादुर तामाङ पनि प्रदेशको नाममा छुट्टै प्रस्ताव दर्ता गर्न चाहन्थे । उनलाई प्रदेशको नाम नेवाः तामसालिङ प्रस्ताव गर्दै फारम पनि भरेका थिए । तर समर्थक नै भेटेनन् । प्रदेशसभाका कुनै पनि सदस्यले प्रदशेको नाम र राजधानीबारे प्रस्ताव दर्ता गर्दा दुईजना प्रदेशसभा सदस्य समर्थक चाहिने व्यवस्था छ ।

हिजोसम्म प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्नुपर्छ भन्ने सांंसदहरु पार्टी हृवीपका कारण समर्थक समेत बस्न नमानेको प्रदेशसभा सदस्य तामाङले बताए ।प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले खल्तीबाट प्रस्ताव फारम झिकेर देखाएका उनले । जातीय पहिचानका लागि रगत बगाएकाहरु समेत पहिचानको एजेन्डा छाडेको भन्दै व्यङ्ग्य गरे, रातामान्छेहरुलाई रातै सलाम ।’प्रदेशसभामा दर्ता हुन नपाएको प्रस्तावलाई मुटुभित्रै सजाएर राख्ने उनले सुनाएका थिए ।प्रदेशको नाम र राजधानीबारे प्रदेशसभाको छलफल भने शनिबार नै सकिएको छ ।

Advertisement

छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्य समेत प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमतीमा समर्थन जनाएका छन् । नेमकिपाका साँसद सुरेन्द्रराज गोसाँइले संघीयताको मर्म र विकेन्दि्रकृत राज्य सञ्चालनको व्यवस्था अनुसार प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र सभ्यता र मौलिकताको आधारमा प्रदेशको नाम बागमती उपयुक्त हुने बताए ।

विवेकशील साझाले भने प्रदेशको केन्द्र जनताको लागि हेटौंडा अपायक पर्ने तर्क गरेको छ । उसका तीन प्रदेशसभा सदस्यले स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेका छन् । छलफलमा भाग लिदै विवेकशीलका बिराजभक्त श्रेष्ठले जनताको घर आँगनमा सरकारलाई पुर्‍याउन र प्रदेश सरकारको प्रत्याभूति दिन काभ्रेको पक्षमा मतदान गर्न साग्रह गरे । प्रदेशसभा सदस्य शोभा शाक्यले रसुवा, दोलखाका जनताले हेटौंडालाई बत्ति बालेर खोज्दा पनि नभेट्ने भन्दै रोस्टममा मोबाइलको लाइट बालेर बिरोध जनाइन् ।

Advertisement

प्रदेशसभाका ११० सदस्यमध्ये नेकपा, नेपाली कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्त गर्दा १०५ जना प्रदेशसभा सदस्य स्थायी राजधानी हेटौंडाको पक्षमा छन् भने काभ्रेको पक्षमा विवेकशील साझाको तीनजना सांसद मात्रै रहेका छन् ।

प्रतिक्रिया