सभामुख छाडिन्न : पूर्व माओवादी

विदुर खबर २०७६ पुष २० गते १८:३८

नेकपाभित्र सभामुखको विवाद पेचिलो बनेको छ । पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनलाई अनिर्णयको बन्दी बनाएर आन्तरिक बैठकमा जुटेको सत्तारुढ नेकपाले आइतबार पनि सभामुखमा सहमति जुटाउन सकेन ।

Advertisement

सभामुख कसलाई बनाउने भन्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीवीच मत बाझिएको छ । अध्यक्ष प्रचण्ड पूर्वमाओवादी खेमाले सभामुख पाउनुपर्ने अडानमा छन् । प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई बनाउनुपर्ने पक्षमा छन् । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन प्रधानमन्त्री ओलीलाई दबाव दिएको नेकपा नेताहरु बताउँछन् ।

पूर्वमाओवादीका नेताहरुले सभामुखमा नझुक्न प्रचण्डलाई दबाव दिएको उच्च स्रोतले  बतायो । यही आन्तरिक दबावका कारण प्रचण्ड र ओलीबीच कुरा नमिल्दा नेकपाभित्र सभामुखमा सहमति जुट्न नसकेको हो । पार्टीले नाम टुंगो लगाउन नसक्दा संसदको बैठक पटक–पटक सर्दै आइरहेको छ ।

Advertisement

कृष्ण बहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पद आफूहरुले नै पाउनुपर्ने भन्दै पूर्वमाओवादीका एक नेताले भने, ‘यसअघि लिखित सम्झौता नै भए पनि प्रचण्डले ओलीजीलाई प्रधानमन्त्री पद छाडिसक्नुभयो । प्रधानमन्त्री छाडिदिएको अवस्थामा अब सभामुख छाड्न सकिँदैन ।’

प्रतिक्रिया