पार्टी एकतापछि मात्रै ओलीको भारत भ्रमण, कत्तिको सम्भावना ?

विदुर खबर २०७४ चैत ११ गते १५:४३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणअगावै पार्टी एकता सक्ने तयारी गर्दै कार्यदललाई काम छिटो सक्न निर्देशन दिएका छन् । दुईतिहाइ समर्थन प्राप्त प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जाँदा एकीकृत पार्टीका अध्यक्षका हैसियतले प्रस्तुत हुने मनशाय देखाएका हुन् ।

Advertisement

प्रधानमन्त्री ओली चैतको अन्तिम साता भारत जाँदैछन् । र, परराष्ट्र मन्त्रालयले भारतसमक्ष प्रस्ताव पठाएको छ । भारतीय विदेश मन्त्रालयले कार्यक्रम तय गरेपछि मात्रै भ्रमणको टुंगो लाग्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

“यो अहिले नै भन्न मिल्ने विषय रहेन, भारतीय विदेश मन्त्रालयले एजेन्डासहित भ्रमणको औपचारिक निम्तो पठाएपछि तय गर्ने विषय हो,” उनले भने ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारत भ्रमण अगावै एकता सक्नुपर्ने बताएका थिए । लगत्तै बसेको माओवादी केन्द्रका पूर्वकार्यालय सदस्यहरूको बैठकले पनि प्रधानमन्त्री ओलीको भ्रमण अगावै एकता प्रक्रिया टुग्याउनुपर्ने निर्णय गरेको थियो । र, सोही मुताविक आइतबारबाट प्रतिवेदन र विधान सम्बन्धि कार्यदलले बाँकी काम टुंग्याउन थालेका छन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बैठकमा अध्यक्ष प्रचण्डले भ्रमण अगावै पार्टी एकता टुंग्याउने विषयमा दुई अध्यक्षबीच छलफल भएको कुरा राखेको बताए ।

Advertisement

त्यही भावनाअनुरूप दुवै कार्यदलले काम थालेको र भ्रमण अगावै एकता गर्ने विश्वास व्यक्त गरे ।

उनले दुवै कार्यदलले मस्यौदा बुझाएपछि चैत १५ मा पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यसलाई टुंग्याइने जानकारी दिए ।

भारत भ्रमण अगावै किन एकता ?

भारत भ्रमण अगावै पार्टी एकता गर्दा अध्यक्ष ओली एकीकृत पार्टीको अध्यक्षको रूपमा प्रस्तुत हुनेछन् । दुई तिहाइ समर्थन प्राप्त र ठूलो कम्युनिस्ट पार्टी प्रमुखले राजकीय भ्रमण गर्दा त्यसको ठूलो राजनीतिक अर्थ हुने विश्लेषक दाबी गर्छन् ।

तर, पार्टी एकता गरेर भारत भ्रमणमा जानुका पछाडि राजनीतिक कारण खोज्नु नहुने तर्क छ एमाले उपमहासचिव विष्णु पौडेलको ।

“एकताको सम्पूर्ण तयारी पूरा भएपछि किन ढिला गर्ने ? भन्ने उहाँको आशय हो । भारत भ्रमणमै जानका लागि दुई पार्टी एकता गर्न लागेको होइन,” पौडेलले भने ।

दुवै कार्यदलले काम सकेर मस्यौदा अध्ययनसमेत अन्तिम चरणमा पु¥याइसकेकाले पार्टी एकतामा विलम्ब गर्नुनहुने निचोड दुवै पार्टीको भएको र भ्रमण अगावै काम टुंग्याउन खोजिएको उनको भनाइ थियो ।

“हामीले कसैलाई देखाउनका लागि पार्टी एकता गर्दैछैनौँ, यो आवश्यकता हो, सबै काम पूरा भइसकेकाले एकता किन रोकेर राख्ने भन्ने प्रधानमन्त्रीज्यूको प्रश्न छ,” उनले बाह्रखरीसँग भने ।

कत्तिको छ सम्भावना ?

यसअघि एमाले–माओवादी केन्द्रका नेताले नेकपा स्थापना दिवसको दिन ९ वैशाखमा पार्टी एकता घोषणा गर्ने तयारी गरेका थिए । तर, प्रधानमन्त्रीले भ्रमण अगावै पार्टी एकता गर्नुपर्ने बताएपछि कार्यदलले बाँकी काम टुंग्याउन थालेका छन् ।

आइतबाटै राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको सदस्य देव गुरुङले जानकारी दिए । त्यसैगरी विधान समितिको बैठक पनि आइतबार बसेको छ ।
भ्रमण अगावै पार्टी एकता गर्न सकिने गरी कार्यदलले काम टुंग्याइरहेको पौडेलले जानकारी दिए ।

“दुवै कार्यदलले केही दिनभित्रै मस्यौदा बुझाउने तयारी गरिरहेका छन् । कार्यदलले आफूले गर्नुपर्ने काम सकिसकेका छन् । भ्रमण अगावै एकता हुनेमा हामी ढुक्क छौँ,” पौडेलको दाबी छ ।

त्यस्तै माओवादी केन्द्रका नेता पोखरेलले पनि अहिलेसम्मको तयारी हेर्दा भ्रमणअगावै एकता सक्न कुनै कठिन नहुने प्रष्ट्याए । “दुवै कार्यदल त्यही स्प्रिटमा छन्,” उनको भनाइ थियो ।

प्रतिक्रिया