न्यानोसँगै सावधानी अपनाउनुस्

विदुर खबर २०७६ पुष ५ गते ८:२५

गएको २९ मंसिरमा काठमाडौंको कीर्तिपुर– ८, पाँगामा कोठाभित्र निसासिएर शर्मिला रञ्जितकार र उनका दुईमहिने छोराको मृत्यु भयो। उनीहरूले न्यानोका लागि कोठामा कोइला बालेर सुतेका थिए। जसकारण कोठामा अक्सिजनको कमी भई उनीहरूको ज्यान गयो।

गत वर्षको पुस ७ गते काठमाडौंको कलंकीमा आगलागी हुँदा दुई जनाले ज्यान गुमाउनुप¥यो। जाडोबाट जोगिन बालेको ग्यास हिटर लिक भएर आगलागी हुँदा पुष्करराज जोशी, उनकी श्रीमती अप्सरा जोशी र छोरा प्रयान दुर्घटनामा परे। जोशी दम्पतीको भने  उपचारका क्रममा मृत्यु भयो। प्रयानको घाउ निको हुन अझै समय लाग्ने बताइएको छ।

केही दिन अघिदेखि देशभर चिसो बढेको छ। चिसोबाट बच्न ताप दिने विद्युतीय उपकरण, ग्यास र कोइला आदिको प्रयोग बढ्न थालेको छ। विशेषतः सहर–बजारमा न्यानोका लागि विद्युतीय हिटर, नुहाउनका लागि सोलार र गिजर पनि प्रयोग गरिन्छ। यस्ता उपकरणले न्यानो दिनेसँगै ठूला दुर्घटना पनि निम्त्याइरहेका छन्। त्यसैले न्यानोका लागि उपकरण प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ।

विद्युतीय उपकरण छोटो समयावधिका लागि प्रयोग गर्दा खासै असर गर्दैन। तर, लामो समय र निरन्तरको प्रयोगले डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम हुने) समस्या आउन सक्छ।

हिटर
जाडोमा विद्युतीय हिटर विशेष प्रयोगमा आउँछन्। ग्यास, विद्युतीय, इन्धनबाट चल्ने हिटर अहिले बजारमा आएका छन्। जाडोमा ताप दिएर यसले मानिसको दैनिकीलाई सहज बनाएको छ। तर, यसको प्रयोगले दुर्घटना निम्त्याउनुका साथै स्वास्थ्यमा पनि समस्या ल्याउने गरेका छन्।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. प्रकाश पौडेलका अनुसार, विद्युतीय उपकरणको प्रयोगले पनि स्वास्थ्यलाई असर गरिरहेको हुन्छ। उनी भन्छन्, ‘छोटो समयावधिका लागि प्रयोग गर्दा खासै असर गर्दैन। तर, लामो समय र  निरन्तर प्रयोग गर्दा डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम हुने) समस्या आउन सक्छ।’

उनका अनुसार, फोक्सो, दम, श्वासप्रश्वास, दीर्घकालीन रोगका बिरामीलाई छिटो असर गर्ने हुँदा हिटर प्रयोगमा सावधान अपनाउनुुपर्छ। हिटर लगायत अरु विद्युतीय उपकरणको प्रयोग गरिरहँदा प्रशस्त मात्रामा पानी पिउन पनि उनी सुझाउँछन्। विद्युतीय हिटरभन्दा कोइलाको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। यसले आगलागीसँगै कोठामा अक्सिजनको मात्रा कम गर्न सक्छ। वातावरणीय र स्वास्थ्यका हिसाबले ‘हुमिडीफायर्स’ लाभदायी हुने डा. पौडेलको भनाइ छ।

सोलार/गिजर
जाडोमा तातोपानीले नुहाउन धेरैले सोलार र गिजरको प्रयोग गर्छन्। तातोपानीले नुहाउन स्वास्थ्यका हिसाबले राम्रै हुने भए पनि यसको प्रयोगमा सावधानी अपनाउन डा. पौडेल सुझाउँछन्। उनका अनुसार, सोलार र गिजरको प्रयोग ठीक मात्राको तापक्रममा प्रयोग गर्नुपर्छ। ओभर हिटिङ र ओभर कुलिङले शरीरमा मेटाबोलिजम् बढाउँछ। ‘यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ,’ डा. पौडेल भन्छन्, ‘हाम्रो शरीरको महत्वपूर्ण अंग (मिर्गौलो, फोक्सो)लाई सीधै असर गर्छ। अत्यधिक तापक्रमले शरीरभित्रको पानी कम गर्ने हुँदा श्वासप्रश्वासको समस्या पनि देखिन्छ।’ अत्याधिक तापक्रमले अक्सिजनको कमी भएर नुहाउँदा बेहोस भएको, मृत्यु भएको घटना पनि छन्।

इलेक्ट्रिक बेड सिट
न्यानोका लागि अहिले बजारमा इलेक्ट्रिक बेडसिट आएको छ। चिकित्सकका अनुसार, यसलाई सन्तुलित तापक्रममा छोटो समयका लागि मात्र प्रयोग गर्नुपर्छ। निरन्तर र लामो अवधिको प्रयोगले तार सर्ट भई आगलागीको खतरा हुन्छ।  डा. पौडेलका अनुसार, तापक्रमको घटबढले सबैभन्दा पहिले बच्चालाई असर गर्छ।

एसी
अचेल चिसोबाट बच्न एसीको प्रयोग पनि बढेको छ। अन्य विद्युतीय उपकरणको तुलनामा एसी अलि सुरक्षित हुने चिकित्सक बताउँछन्। यसको प्रयोगमा भने होसियारी हुनुपर्छ। मानिसको शरीरको तापक्रम सुहाउँदो हिसाबले एसीको प्रयोग गर्नुपर्ने डा. पौडेलेको भनाइ छ। ‘मानिसको अधिकतम तापक्रम २६ डिग्री सेल्सियस हो,’ उनी भन्छन्, ‘विद्युतीय उपकरण २२ देखि ३० डिग्री सेल्सियसको तापक्रममा मिलाई सधैँ अटो मोडमा प्रयोग गर्नुपर्छ।’

इलेक्ट्रिक रड
जाडोमा पानी तताउन अचेल बजारमा इलेक्ट्रिक रड आएको छ। यसको प्रयोग गर्दा भने निकै होसियारी अपनाउनुपर्छ। रडमा करेन्ट प्रवाह हुने हुँदा खतरा बढी हुन्छ। जाडोमा न्याना कपडाको प्रयोगसँगै मनतातो पानी, झोलिलो पदार्थ (दाल, सुप आदि) प्रशस्त मात्रामा पिउनुपर्छ।

Advertisement

प्रतिक्रिया