नुवाकोटमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा सबैको प्रतिवद्धता

विदुर खबर २०७६ मंसिर १८ गते २०:५७

नुवाकोट । समानताको पुस्ता, बलत्कार बिरुद्ध ऐक्यवद्धता भन्ने नारा सहित गत मंसिर ९ गते देखी सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेको छ । अभियान अन्तर्गत महिला तथा बालबालिका संरक्षण सञ्जाल नुवाकोट र बेलकोटगढी नगरपालिकाको आयोजनामा बेलकोटगढी नगरपालिका बाघखोरमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले स्थानिय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व भएता पनि ग्रामीण स्तरमा अझै महिलाहरु हरेक प्रकारको हिंसा भोग्न बाध्य रहेको भएको बताउनुभएको छ । हिंसा रहित समाज निर्माण गर्नका लागी महिला र पुरुष दुवै मिलेर शसक्त ढंगले अगाडी बढ्नुपर्ने उहाले बताउनुभएको छ ।

Advertisement

यस्तै, कार्यक्रममा बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनालले नगर भित्रका महिलाहरुको क्षमता विकास तथा सिप बिकासका विभिन्न कार्यहरु गर्दै आएको बताउनुभएको छ । नयाँ नगरपालिका साथै भौगोलिक कारणले गर्दा नगर बिकास व्यवस्थापन तर्फ केन्द्रित भएको बताउनुहुदै उहाले अबको आर्थिक वर्ष भित्रमा महिलाहरुलाई केन्द्रित गरेर कानुनी सचेतनाको कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।

यस्तै, कार्यक्रममा बेलकोटगढी नगरपालिकाको उपप्रमुख कबिता ढुङ्गानाले नगरपालिका भित्रका महिलाहरु सशक्तिकरणको लागी कुल बजेटको १३ प्रतिशत बजेट छुट्टाएको र बजेट कार्यान्वयनको पक्षमा रहेको बताउनुभएको छ । महिलाहरुको जीविकोपार्जन उकास्न, सिप बिकास तालिम, महिलासँग उपप्रमुख लगायत विभिन्न सचेतनामुलक कार्यहरु सञ्चालन गर्दै आएको बताउनुभएको छ । समय परिवर्तनसँगै हिंसाको स्वरुप पनि परिवर्तन भएको बताउनुहुदै उहाले सबैले आफ्नो आफ्नो ठाउँबाट हिंसा न्युनिकरणमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।

Advertisement

कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिबप्रसाद लम्सालले लैङ्गिक हिंसामा अझै पनि सबै भन्दा बढी महिलाहरु हिंसा परेको बताउनुभएको छ । महिलाहरुलाई हिंसाबाट जोगानको लागी नगरपालिकाले पनि बिभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनुभएको छ । यस्तै, कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल नुवाकोटका अध्यक्ष बिन्दा ढुङ्गानाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समबन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा लैङ्गिक हिंसा बिरुद्धको अभियानको बारेमा जानकारी, नुवाकोटमा लैङ्गिक हिंसाको अवस्था, हिंसा न्युनिकरणमा सरकारी तथा गैरसरकारी निकायबाट भएका पहलहरु, अब गर्नुपर्ने कार्यहरुको बारेमा उल्लेख गरिएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायब निरिक्षक राजेश थापाले प्रहरी कार्यलयमा दर्ता भएका घटनाहरुको बारेमा जानकारी, समस्या समाधानको लागी गरिएको पहलको बारेमा कार्यक्रममा सहभागी भएकाहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा वातावरण तथा प्रजनन् स्वास्थ्य केन्द्र नुवाकोटका सचिब शुभद्रा नेपाल, महिला मानब अधिकार रक्षक सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डे, मानब अधिकारको लागी महिला एकल महिला समुह नुवाकोटका अध्यक्ष देबकी पौडेल, त्रिशुली प्लस नुवाकोटका कार्यक्रम संयोजक पुजा भण्डारी, छोरी संस्था नुवाकोटका मनोबिमर्शकर्ता मनिषा थापा लगायतले लैङ्गिक हिंसा नियन्त्रणको लागी सबै पक्ष प्रतिवद्ध भएर लाग्नु पर्ने बताएका छन् । कार्यक्रममा बेलकोटगढी नगरपालिकाको जनप्रतिनिधिहरु, विभिन्न महिला समुहका प्रतिनिधिहरु, संघसस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आगामी दिनमा पनि विभिन्न रचनात्मक कार्यक्रम गरिने महिला तथा बालबालिका संरक्षण सञ्जाल नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया