प्रदेश ३ सरकारले प्रत्येक स्थानीय तहमा शान्तिपार्क निर्माण गर्ने

विदुर खबर २०७६ मंसिर ३ गते २०:०१

नुवाकोट ।  प्रदेश ३ सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शान्तिपार्क निर्माण गर्ने भएको छ ।

Advertisement

विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्झनामा पार्क निर्माणको योजना ल्याइएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा चारवटा स्थानीय तहमा शान्तिपार्क बनाउने घोषणाा गरेको प्रदेश सरकारले चालु आवमा थप ३० वटा स्थानीय तहमा पार्क स्थापना गर्ने तयारी अगाडि बढाएको छ । यसका लागि ४० वटा स्थानीय तहले मन्त्रालयमा प्रस्ताव पेस गरेकोमा ३० वटा मात्र छनोट भएका छन् । आव ०७८/७९ भित्र प्रदेश ३ को एक सय १९ वटै स्थानीय तहमा शान्तिपार्क निर्माण गरिसक्ने घोषणा वार्षिक नीति तथा कार्यक्रममार्फत गरिएको थियो ।

 

पार्कका लागिआन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपमहानगरपालिका र महानगरपालिकाका लागि बढीमा ३० प्रतिशत, नगरपालिकाको लागि बढीमा ४० प्रतिशत र गाउँपालिकाको लागि बढीमा ५० प्रतिशत लागत साझेदारी गर्ने नीति अवलम्बन गरेको छ । यसका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रत्येक स्थानीय तहमा शान्ति निर्माणका लागि विनियोजन गरिएको दुई करोड रुपैयाँमध्ये एक करोड ४० रुपैयाँ बजेट फ्रिज भएको थियो ।

‘पार्कहरू सार्वजनिक जग्गामा निर्माण हुनेछन् । तर, प्रदेशको माताहतमा यस्ता नहुँदा समस्या देखिएको छ,’ मन्त्री जम्मकट्टेलले भने, ‘सार्वजनिक जग्गा प्रायः वनमा हुने गरेको छ । वनसँग समन्वय नहुँदा समस्या देखियो ।’ भौतिक संरचना निर्माणका लागि हिमाली र पहाडी क्षेत्रमा ३० रोपनी, काठमाडौं उपत्याकाभित्र ५ रोपनी र तराई तथा भित्रीमधेसमा एक बिघा जमिन हुनुपर्ने प्रस्ताव गरिएको मन्त्री जम्मकट्टेलले जानकारी दिए ।स्थानीय तहलाई समेट्ने गरी शान्तिपार्क निर्माण कार्यविधि र मापदण्ड २०७६ बनाइएको मन्त्रालयका सचिव वीरवहादुर सिंहले जानकारी गराए । पार्कमा सभा सम्मेलन, योग शिविर, ध्यान, प्रवचन, गोष्ठी तथा अन्तरक्रिया गर्न मिल्ने कम्तीमा तीनवटा हल निर्माण हुने उनको भनाइ छ ।
Advertisement

प्रतिक्रिया