बेत्रावती–स्याफ्रुबेँशी सडकखण्डको खाल्डाखुल्डी पुर्न सुरु

विदुर खबर २०७६ कार्तिक २६ गते २०:४९

रसुवा । पासाङल्हमु मार्गको बेत्रावतीदेखि स्याफ्रुबेशीसम्मको सडकमा परेका खाल्डाखुल्डी पुर्न सुरु गरिएको छ ।

Advertisement

बर्षायाम सकि सुख्खायाम सुरु भएसँगै बेत्रावतीदेखि देखि कालिकास्थान, धुन्चे हुदै स्याफ्रुबेशीसम्मको सडकमा परेको खाल्डाखुल्डी पुर्न सुरु गरिएको हो । सडक डिभिजन कार्यालय नुवाकोटले शनिबारदेखि धुन्चे–कालिकास्थान सडकखण्ड अन्तर्गत स्याउबारीबाट खाल्डाखुल्डी परेको सडक मर्मत सुरु गरेको जनाएको छ । एउटा जेसिभि, एउटा लोडर र एउटा टिपर प्रयोग गरि बिग्रेको सडक मर्मत सुरु गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए ।

बिहिबार जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवालासँगको छलफलपछि बिग्रिएका सडक सुधारको अभियान सुरु गर्ने निर्णय गरिएको थियो । छलफलले सडक डिभिजन कार्यालय नुवाकोटको समन्वयमा गोसाइँकुण्ड गाउँपालिका र कालिका गाउँपालिकाको नेतृत्वमा खाल्डाखुल्डी भई बिग्रेका सडक मर्मतको काम सुरु गर्ने निर्णय गरिएको थियो । सोहि अनुसार खाल्डाखुल्डी भई बिग्रेका सडक मर्मत सुरु गरिएको जनाएको छ । सडक मर्मतका लागि आवश्यक पर्ने स्रोतसाधन डोजर, ट्रिपर, रोलर लगायतका साधन सडक डिभिजन कार्यालय नुवाकोट, जिल्लाका गाउँपालिका, जलबिद्युत आयोजना, यातायात व्यवसायी समिति लगायत सरोकारवाला निकायलाई अनुरोध गर्ने निर्णय गरिएको थियो । त्यस्तै हेभीयन्त्रका लागि सडक बिभागमा अनुरोध गर्ने निर्णय गरिएको थियो । त्यसको लागि आवश्यक पर्ने इन्धन सडक डिभिजन कार्यालय नुवाकोटले व्यहोर्ने भएको छ ।

Advertisement

बेत्रावतीदेखि देखि कालिकास्थान, धुन्चे हुदै स्याफ्रुबेशीसम्मको सडक खण्डमा बढी खाल्डाखुल्डी भएकाले सडकमा ग्राभेल गर्न आवश्यक देखिएको हुदाँ अभियान स्वरुप खाल्डाखुल्डी पुर्न सुरु भएको जिल्ला बिपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उनका अनुसार राम्चे, ग्राङ, सोले, धुन्चे र ठूलो भार्खुमा ग्राभेल गरिने भएको छ ।स्याउबारीदेखि स्याफ्रुबेसीसम्मको सडक जीर्ण छ । पासाङल्हामु मार्गको स्याउबारीदेखि स्याफ्रुबेशी सम्मको जिर्ण तथा साधुरो सडक मर्मत नगर्दा जिर्ण सडकमा चालकहरु जोखिम मोलेरै सवारी चलाउन बाध्य भएका छन् । सडक जीर्ण हुँदा समेत सडक डिभिजन कार्यालयले काम गर्न नसकेको भन्दै सरोकारवालाले आक्रोश पोखेका छन् ।

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट नेपाल तर्फ आयात तथा निर्यात हुने सामानहरु यहि सडकखण्ड हुदै आवतजावत हुने गर्दछ । मैलुङ, स्याफ्रुबेशी सडकमा जोखिम रहेको हुदाँ अधिकाशं सवारी स्याफ्रुबेशी, धुन्चे कालिकास्थान बेत्रावतीको सडक प्रयोग गरिराखेका छन् । रसुवागढी नाका हुदै आउने तथा सदरमुकाम धुन्चे हुदै जाने ठुला मालबाहक सवारी साधन, निमार्णधिन जलबिद्युत आयोजनाहरुको निमार्ण सामाग्री लगायतका करोडौ मुल्यका सामानहरु सवारी साधन मार्फत यहि बाटोबाट जोखिम मोलेरै लाने ल्याउने गरेका छन् । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढि नाका हुदै सामान आयात भइरहेको छ । अन्तराष्ट्रिय नाका जोडिएको सडक जिर्ण बने पछि सडक मर्मत गरि सहज रुपमा सवारी संचालन गर्ने वातावरण बनाउन सवारी चालकहरुले सम्बन्धित निकायसंग माग समेत गरेका छन् ।

Advertisement

भारतले लगाएको नाकाबन्दी पछि पासाङल््हामु मार्ग स्तरोन्नति गर्ने भन्दै धेरै मन्त्रीहरु रसुवागढी नाकासम्म पुगेर अनुगमन गर्ने गरेका थिए । सडक स्तरोन्नति गर्ने र ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि तत्काल पासिङ जोन बनाउने योजना समेत सार्वजनिक गरिएको थियो । बिभिन्न योजनाहरु अघि सारिएपनि सडकको अवस्था भने जस्ताको त्यस्तै छ । सरकारले त्यति बेला नै सडक स्तरोन्नति गर्ने घोषणा गरेपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । जसले गर्दा करोडौ मुल्य बराबरको सामान जोखिम मोलेरै लैजाने गरिएको छ । पासाङल्हामु सडक खण्ड मर्मत सम्भार नहुँदा दिन दिनै जीर्ण हुँदै गएको छ । तर सम्बन्धित निमाय भने मौन रहेको पाइन्छ । तर सडक डिभिजन कार्यालय भने पर्याप्त बजेट नआएको हुदाँ मर्मत सम्भार हुन नसकेको भन्दै पन्छिदै आएको छ ।

प्रतिक्रिया