महरालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

विदुर खबर २०७६ कार्तिक १८ गते १७:३१

जिल्ला अदालत काठमाडौंले  संघीय संसद् सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउने आदेश गरेको छ।

Advertisement

सोमबार थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।अब मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महराले जेलमा नै बस्नुपर्ने भएको छ। उनलाई डिल्लीबजार कारागार लैजाने तयारी गरिएको छ। महराको पक्षमा आइतबार र सोमबार गरी ३२ जना वकिलले बहस गरेका थिए।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले सरकारी वकिल महरा पक्षका कानुन व्यवसायीको बहसपछि यस्तो आदेश सुनाएको हो।आइतबार बहस नसकिएपछि उनीविरुद्धको पेशी सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। जिल्ला अदालतको एक नम्बर इजलासमा बन्द इजलास गठन गरी बहस सुरु भएको थियो। थुनछेक बहसका क्रममा महरामाथि आरोप लगाउने रोशनी शाही पनि अदालत पुगेकी थिइन्। महरा पक्षका कानुन व्यवसायीहरुले रोशनीमाथि बलात्कारको प्रयास नगरेकाले साधारणा तारेखमा छुट्नुपर्ने माग गरेका थिए। तर सरकारी वकिलहरूले भने आफ्नै सचिवालयमा कार्यरत कर्मचारी शाही माथि बलात्कार प्रयास गरेको तत्कालीन अवस्थामा प्राप्त प्रमाणहरूले पुष्टि गरेको दाबी गरेका थिए।

Advertisement

प्रतिक्रिया