आशा लघुवित्तको खराब कर्जा व्यवस्थापनले सञ्चालन नाफा घट्यो

विदुर खबर २०७६ कार्तिक १६ गते २०:२६

नुवाकोट । नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको आशा लघुवित्तले वित्तीय संस्था को खराब कर्जा ब्यवस्थापनमा अधिक रकम खर्च गर्नुपर्दा लघुवित्तको सञ्चालन मुनाफामा उल्लेख्य गिरावट देखिएको छ।

Advertisement

असोज मसान्तसम्ममा लघुवित्तको सम्भावित नोक्सानी व्यवस्थाअघि २ करोड ३८ लाख मुनाफामा रहेको लघुवित्तले एक करोड ७८ लाख खर्चदाँ लघुवित्तको सञ्चालन मुनाफा ६० लाख ४ हजारमा सीमित भएको हो।

यद्यपी लघुवित्तले गत वर्षको यसै अवधिको तुलनामा आफ्नो खुद मुनाफामा सुधार गरेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ९८ लाख १६ हजार खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्तले २६ लाख ७७ हजार खुद मुनाफा आर्जन गरेको थियो। समिक्षा अवधिमा लघुवित्तको मुनाफा ७० लाख ३९ हजारले सुधारिएको हो।गत वर्ष आईपिओ जारी गरेको यस लघुवित्तले व्यवसायीक दायरा फराकिलो बनाउँदा मुनाफामा पनि सुधार भएको हो। असोज मसान्तसम्ममा ५६ करोड ९० लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन र १ अर्ब २४ करोड ५५ लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर २ अर्ब ४ करोड ४६ लाख ३४ हजार कर्जा प्रवाह गरेको छ। यस अवधिमा लघुवित्तले ३ करोड ९२ लाख ८ हजार खुद ब्याज आम्दानी गरेको छ।

Advertisement

चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९० पैसा कायम भएको छ ।अघिल्लो आवको यसै अवधिमा लघुवित्तको इपिएस ७ रुपैयाँ ६५ पैसा रहेको थियो। लघुवित्तको जगेडा कोष २७ लाखबाट बढेर ४ करोड ६४ लाख पुगेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात २.५४ प्रतिशत, कोषको लागत १०.९१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय १९ रुपैयाँ ९७ पैसा रहेको छ।असोज मसान्तसम्ममा लघुवित्तले ५५ शाखा कार्यालय र ४८ हजार विपन्न परिवारमा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया