आरआरका स्ववियु सहसचिव इन्द्रहाङ राईले देउसी खेल्न बोलाएर ‘बलात्कार’ गरे

विदुर खबर २०७६ कार्तिक १४ गते ११:१४

गाउँकै स्कुलबाट १२ कक्षा सकेपछि उनी थप अध्ययनका लागि ५ महिनाअघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिसक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरू हप्तैपिच्छे हाइकिङ जान्थे । त्यही क्रममा गत असार पहिलो साता इन्द्रहाङ राईसँग उनको चिनजान भयो ।

Advertisement

 

दिदीको सँगै पढ्ने साथी भएकाले उनी दाइ भनेरै सम्बोधन गर्थिन् । सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो । ‘अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्‍यो भनेर विश्वास गर्नै कठिन भइरहेको छ,’ उनकी दिदीले भनिन् । भाइटीकाको अघिल्लो दिन उनी कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राईलाई यो थाहा नहुने कुरै भएन । इन्द्रहाङ विद्यार्थी नेता पनि हुन् । कसैको समस्यामा उनी सहयोग गर्न अघि सर्थे । अझ राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन् । दिउँसो उनलाई राईले फोन गरे । ‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने । उनी जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्‍याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन् ।

त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । माहौल ठीकठाक थियो, ठूलो कुरा त विश्वास नै थियो । तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो । ‘सुरुमा उसले हग गरौँ भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती गर्‍यो,’ उनी सम्झिन्छिन् । प्रतिकार गरे पनि उनी उम्किन सकिनन्। ‘मैले मान्दै नमानेपछि गालामा दुई झापड हान्यो, सबैलाई भनिदिन्छु भनें तर तेरो बेइज्जत गरिदिन्छु भनेर धम्क्यायो,’ उनले सुनाइन् ।

राईले मर्‍याकमुरुक पारिदिएको उनको हात अरूले छोए पनि दुख्छ । राईको बलियो घुँडाले थिचेका उनका खुट्टाहरू राम्ररी टेकिन सकेका छैनन् । बुधबार साँझको भेटमा उनले त्यो दिन सम्झिइन्, ‘उसले दुई पटकसम्म जबर्जस्ती मेरो मुखमा लिंग छिराइदियो ।’ उनले जतन गरेर राखेकामध्ये सबैभन्दा राम्रो कुर्था लगाएकी थिइन्, राईले धुजाधुजा पारिदिए । पीडितले यही कुरा प्रहरीमा पनि रिपोर्ट गरेकी छन् । ‘तर मेडिकल टेस्टमा माउथ स्वाब लिइएन, मैले भन्न सक्ने अवस्था पनि थिएन । अहिले त्यही आधारमा प्रमाण पुगेन भनेर उसलाई छाडिदिन्छन् कि भन्ने डर लागेको छ,’ उनले भनिन् ।

त्यस क्रममा राईले धेरै धम्की दिएको पीडितको भनाइ छ । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई चक्कु देखाएर मार्नेसम्मको धम्की दिएको उनले सुनाइन् । ‘मलाई त्यहाँबाट निस्किन धेरै सकस भयो, कतै पनि भन्दिनँ अहिले यहाँबाट निस्किन दिनुस् भनेपछि उसले बाइकमा बसपार्कसम्म ल्याएर छाडिदियो,’ उनले भनिन् । त्यतिखेर उनको साथमा गाडी भाडा तिर्ने पैसा थिएन, योबारे राई जानकार थिए । राईले उनको हातमा हजार रुपैयाँ थमाउँदै भने, ‘मलाई यो पैसा फिर्ता होला भन्ने आस छैन ।’ ‘तर मैले पैसा उसैलाई फालिदिएँ, गाडी चढें र दिदी (दिदीको साथी) लाई फोन गरें,’ उनले भनिन् ।

दिदी उनलाई लिन कोटेश्वरसम्म आइपुगिन् । घर पुगेपछि उनले सबै कहानी सुनाइन् । घटना बाहिर ल्याउने कि नल्याउने भन्ने विषयमा उनीहरूबीच लामो छलफल भयो । अन्ततः राति १ बजेतिर पुलिसमा जाहेरी दिन उनी तयार भइन् । उनीहरू कौशलटारमा बसिरहेका थिए, १०० मा डायल गर्दा सानोठिमी प्रहरीले फोन उठायो । घटना माकलबारीको हो भनेपछि बौद्धको प्रहरीलाई खबर गर्नु भन्ने जवाफ आयो । उनीहरूले बौद्धको नम्बर पत्ता लगाए र फोन गरे, त्यतिखेरसम्म रातिको साढे १ बजिसकेको थियो । प्रहरीको जवाफ आयो, ‘अहिले धेरै रात परिसक्यो, बिहान ६ बजे आउनू ।’ प्रहरीको हल्काफुल्का जवाफ सुनेर उनीहरू छक्क परे ।

‘बलात्कारजस्तो गम्भीर घटनामा पनि यस्तो जवाफ दिने भनेर कराएपछि प्रहरीले त्यसो हो भने तपाईंहरू आफैं आउनुस्, हामी आउन सक्दैनौं भन्यो,’ उनी सम्झिन्छिन् । त्यसपछि दिदीबहिनीले केही साथीलाई फोन गरे, साथीहरू पनि कौशलटार आइपुगे र उनीहरू राति साढे २ बजेतिर उजुरी लिएर प्रहरी कार्यालय बौद्ध पुगे । उजुरी दर्ता भयो तर प्रहरी घटनास्थलमा बिहान ६ बजेमात्रै जाने भयो । उनीहरू बौद्ध एरियामै यताउता टहलिएर उज्यालो बनाए । भाइटीकाको दिन, बिहानीको सिरेटोले उनको शरीर झन्झन् दुख्न थाल्यो । घटनास्थलमा प्रहरीभन्दा अगाडि नै राई पुगिसकेका थिए । उनले आफू प्रहरीको इन्स्पेक्टर हुँ भन्दै कोठा खोल्न पनि लगाएका थिए, त्यही बेला ठ्याक्कै प्रहरी पुग्यो । राई पक्राउ परे । उनी नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव हुन्।

पक्राउपछि राईको परिवारका सदस्यले पीडित किशोरीलाई फोन गरे । सुरुमा सान्त्वना दिए, पछि मिल्नुपर्छ भनेर फकाए। तर उनी कानुनी कारबाहीका लागि दृढ रहिन् । काठमाडौंमा अहिले दिदीबहिनी र त्रिभुवन विश्वविद्यालयका केही साथी मिलेर उनलाई काउन्सिलिङ गराउन यताउति धाइरहेका छन् । घटनालाई लिएर उनको मनोबल कत्ति पनि नघटोस् भन्ने उनीहरूको चाहना छ । तर के के कुराको अभाव परिरहन्छ । ‘हामीले काउन्सिलिङका लागि प्रहरीसँग पनि अनुरोध गरेका थियौं तर आफैं गर्नुस् भनेर जवाफ दिए,’ उनकी दिदीले सुनाइन् । ‘यस्तो अप्ठ्यारो परेका बेला इन्द्र दाइलाई भनेपछि सहयोग गर्नुहुन्छ कि जस्तो लाग्छ,’ उनकी दिदीले भनिन्, ‘फेरि झसङ्ग हुन्छु, बलात्कारी त उही पो हो ।’ उनीहरूको अनुहारको बत्ती झ्याप्पै निभ्यो तर उसलाई कारबाही भएको देख्ने चाहना निभिसकेको छैन ।
कान्तिपुर दैनिकबाट साभार

प्रतिक्रिया