२ वर्षभित्र महाधिवेशन, जनयुद्ध र जनआन्दोलनलाई समानरूपमा हेर्ने !

विदुर खबर २०७४ चैत २ गते ७:५६

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच ९ वैशाखमा पार्टी एकता सम्पन्न गर्ने गरी राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलले काम गरिरहेका छन् ।

समितिले ५ चैतभित्रै मस्यौदा सक्ने र पार्टी एकता संयोजन समितिलाई बुझाउने तयारी गरेको कार्यदलका सदस्यले जानकारी दिएका छन् ।

यसअघि विभिन्न चुनाव र मन्त्रिपरिषद् विस्तारलगायतका काममा अल्झिनुपरेकाले मस्यौदा निर्माणमा ढिलाइ भएको प्रतिवेदन लेखन समितिका सदस्य रघुजी पन्तले जानकारी दिए ।

यस्तो बन्दैछ राजनीतिक प्रतिवेदन

प्रस्तावित राजनीतिक प्रतिवेदनको मस्यौदामा पार्टीको सिद्धान्त माक्र्सवाद र लेनिनवादी र विश्व कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नेपालको तर्फबाट पहल गर्ने, नेपालका सबै वामपन्थी दललाई एकीकृत गर्ने, समाजवादसम्म पुग्ने, आधार नीति कार्यक्रम तय गर्ने विषयमा दुई दल सहमत छन् ।

त्यस्तै कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटनआदिमा विशेष कार्यक्रम तयार गरी समाजवादको गन्तव्य तय गर्ने मस्यौदामा उल्लेख छ ।

जनयुद्ध, जनआन्दोलनलाई समानरूपमा हेर्ने, दुवै आन्दोलनलाई गणतन्त्र प्राप्तिको अस्त्र, परिवर्तनको वाहक भएको मान्न एमाले–माओवादी केन्द्र एकमत देखिएका छन् ।

पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद रहने कि २१ औँ शताव्दीको जनवाद रहने भन्ने विषय अहिले नै निरुपण हुन सके गर्ने नभए महाधिवेशनसम्म लैजान दुवै पार्टी एकमत रहेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

उनले प्रतिवेदन लेखक सकिएर अध्ययन गर्ने कार्य पनि अन्तिम चरणमा पुगिसकेकाले पार्टी एकता संयोजन समितिलाई छिट्टै हस्तान्तरण गर्ने जानकारी दिए ।
उनले दुई वर्षभित्रै महाधिवेशन गर्ने गरी कार्य सम्पादन भइरहेकोसमेत बताए । “यसअघि सहमति भएकै विषयको जगमा उभिएर मस्यौदा तयार पारिएको छ । सहमति भएका विषय टुंग्याउने, बाँकी विषय महाधिवेशनमा लगिनेछ,” उनको भनाइ थियो ।

विधानमाथि धारावाहिक छलफल 

यता विधान तथा प्रतिवेदन मस्यौदा कार्यदलले पनि वैशाख ९ गते पार्टी एकता गर्नेगरी तीव्र रूपमा काम भइरहेको बताएका छन् । विधान मस्यौदामाथि संयुक्त कार्यदलका सदस्यहरुले छलफल गरिरहेका छन् ।

विधान मस्यौदा कार्यदलका सदस्य समेत रहेका एमाले नेता वेदुराम भुसालले वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पार्टी एकता गर्नेगरी काम भइरहेको बताए ।

“दुवै कार्यदलले तयार पारेको प्रारम्भिक मस्यौदामाथि अध्ययन भइसकेपछि छलफल भइरहेको छ । विधानको धाराबाहिक छलफल भइरहेको छ । विधानमा सैद्धान्तिक कुरा हुन्छ । संगठनको संरचना कस्तो बनाउने ? कुन सिद्धान्तमा आधारित भएर बनाउने ? विषयमा छलफल भइरहेको छ,” भुसालले भने ।

उनले लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित भएर पार्टी निर्माण गर्नेसमेत बताए ।

भुसालले पार्टी एकताको लागि नगर कमिटी, केन्द्रीय कमिटी क्षेत्रीय कमिटीहरूको परिकल्पना भए पनि कमिटीको आकारका विषयमा भने छलफल भइरहेको बताए ।baahrakhari

प्रतिक्रिया