टोखा-छहरे सुरुङमार्ग बन्ने खबरले नुवाकोटबासी उत्साहित

विदुर खबर २०७६ असोज २६ गते १०:०२

नुवाकोट ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् । उनीहरूले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्नेर् जोड दिए ।

Advertisement

चीनको सीमा जोडिएको रसुवागढी नाकादेखि नुवाकोट हुँदै काठमाडौं जोड्ने सुरुङ मार्ग निर्माण भए व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने र राजधानी काठमाडौं छिट्टै पुगिने नुवाकोट र रसुवावासी बताउँछन् । शिवपुरी गाउँपालिका–८ का खन्याचौरका स्थानीय किसान पशुपति न्यौपानेले भने, ‘सुरुङ मार्ग छिटो बने छोराछोरीलाई पढाउन कोठा लिएर काठमाडौंमा राख्नु पर्दैन । बिरामी भए छिट्टै अस्पताल पुगिन्छ । तरकारी काठमाडौंको बजारमा लान सजिलो हुन्छ ।’ सानो होटल र कपडा पसल चलाउँदै आएका लिखुगाउँपालिकाका ६ छहरेका राजाराम सिलवाल सुरुङ मार्ग निर्माणले व्यवसाय बढ्ने बताउँछन् । रसुवागढी हुँदै काठमाडौं छिचोल्ने सुरुङ मार्ग निर्माणले व्यापार व्यवसाय र कलकारखाना खुल्ने नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाको बुझाइ छ । ‘सुरुङ बन्ने हल्लाले आर्थिक कारोबार बढेको छ,’ उनले भने । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सुरुङ मार्ग निर्माणपछि ग्रामीण पर्यटनको विकास हुने विश्वास व्यक्त गरे ।

चीनको रेसुओपोर्ट र नेपालको रसुवाको सीमानाका रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, नुवाकोट त्रिशूली, विदुर, गंगटे, ढिकुरे, छहरे, गुर्जेभन्ज्याङ, काठमाडौंको टोखासम्मको दूरी १ सय किमि छ । छहरेदेखि टोखा २७ किमि छ । उक्त सडक साँघुरो छ । सडक वर्षात्को समयमा भारवहन गाडीले गुड्दा बाटो भत्किएको छ । घुम्ती धेरै छन् । सडक डिभिजनका अनुसार रसुवागढी–बेत्रावती, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिनेछ । बेत्रावती–सूर्यगढी गाउँपालिका ५ कल्लेरी हुँदै सुरुङ मार्ग निर्माण भए अझै सडक छोटो बन्ने सडक डिभिजनको दाबी छ । चीनले २०७१ मंसिर १५ मा नेपाल सीमा रसुवागढी पारी रेसुओपोर्ट खोलेर अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो । रेसुओपोर्टदेखि केरुङसम्मको दूरी २४ किमि छ ।

सुरुङमार्ग कति लामो ?

टोखा–छहरे सुरुङ मार्गको पूर्वसम्भाब्यता अध्ययनबाहेक अरू केही नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले जनाएका छन् । यसको दूरी कति हुने भन्ने पनि यकिन छैन । मन्त्रालय र विभागका अधिकारीहरूले अध्ययनकै क्रममा रहेकाले अहिले औपचारिक रूपमा भन्न नसकिने बताए । टोखा–छहरे सुरुङमार्गको दूरी ४ देखि ७ किमिसम्म हुन सक्ने मन्त्रालय र विभागका अधिकारीहरूको भनाइ छ । मन्त्रालयका एक अधिकारीले भने, ‘सुरुङ मार्ग आफैंमा जटिल संरचना हो, चौबिसै घण्टा बिजुली र स्वच्छ हावा चाहिन्छ । सुरक्षाको प्रबन्ध पनि उत्तिकै गर्नुपर्छ । यो सबै अध्ययन हुन बाँकी छ ।’

सडक विभागले निर्माण लागत बढे पनि दीर्घकालमा सुरुङ मार्ग सस्तो र समयको बचत हुन सक्ने भएकाले यसैमा जोड दिनुपर्ने जनाएको छ । विभागले विगतमा प्रारम्भिक अध्ययन गरेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा सम्भाब्यता अध्ययन गर्न कार्यक्रम र बजेट छुट्याएको जनाएको छ ।
छहरे–टोखा सुरुङ मार्गको निर्माण हुने विन्दु नुवाकोटको छहरेदेखि साढे ३ किमि दक्षिण पूर्व घट्टेखोलामा पर्छ । उक्त स्थान जंगलले ढाकेको छ । अलिमाथि २/३ घर छन् । त्योभन्दा माथि काफलडाँडा बस्ती छ । उक्त विन्दुमा चट्टानी खोल्सा छ । अलि तल खेत, बारी र बस्ती छन् । ३ किमि कटेपछि छहरे र थानसिङको मैदानी फाँट छ । विदुर सदरमुकामदेखि २० किमि दूरीमा प्रारम्भिक अध्ययन गरिएको उक्त विन्दुमा पुग्न सकिन्छ । छहरे–टोखा सुरुङ मार्गको नाम दिइए पनि सम्भाव्यता अध्ययन गरिएको ठाउँ शिवपुरी गाउँपालिका ८ नम्बर वडामा पर्छ ।
कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया