चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण तीव्र गतिमा

विदुर खबर २०७६ असोज २४ गते १८:३८

नुवाकोट । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ ।

Advertisement

चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्ने गरी सम्झौता भए पनि ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ । पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरीवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ । विभागका निमित्त महानिर्देशक दामोदर गौतम दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भइरहेको बताउनुहुन्छ । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानोस्वरूपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भइरहेको उहाँले सुनाउनुभयो । करीब रु १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको हो । दरबार पुनःनिर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो ।

नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्तरूपमा दरबार पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराउनुभएको थियो । नुवाकोट दरबार पुनःनिर्माणमा पनि चीनको सहयोग चीनले नुवाकोटको साततले दरबारको पुनःनिर्माणमा पनि सहयोग गरेको छ । नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणका लागि हाल अध्ययन भइरहेको छ । अध्ययनसँगै पुनःनिर्माणको काम पनि शुरु भएको विभागका निमित्त महानिर्देशक गौतमले बताउनुभयो । नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहललगायत सबै संरचना चीन सरकारले नै पुनःनिर्माण गरिदिने छ । नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानोस्वरूपमै निर्माण गर्न लागेको विभागले जनाएको छ ।

Advertisement

प्रतिक्रिया