प्रहरी मुचुल्कामा हस्ताक्षर गर्न मानेनन् गणेश लामाले, यस्तो छ उनको प्रहरी रेकर्ड

विदुर खबर २०७४ चैत १ गते १२:५१

काठमाडौं । गुण्डा नाइके गणेश लामाले प्रहरी मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । बुधबार राति प्रहरीले उनलाई काठमाडौंको गौशालाबाट हतियारसहित पक्राउ गरेको थियो । तर, लामाले उक्त हतियार आफ्नो नभएको बताउँदै प्रहरी मुचुल्कामा हस्ताक्षर नगरेको प्रहरी स्रोतले जनाएको छ ।

बुधबार गौशाला पिंगलास्थानस्थित पशुपति भिजन कम्प्लेक्स क्षेत्रबाट अटोमेटिक चाइनिज पेस्तोल र त्यही पेस्तोलमा लाग्ने ६ राउण्ड गोलीसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । घटनास्थलबाट १ राउण्ड गोलीको खोका र लामाले प्रयोग गर्दै आएको ल्याण्डक्रुजर बा ३ च १७२ नम्बरको गाडी पनि बरामद भएको थियो ।

लामाले बरामद गरिएको पेस्तोल आफ्नो नभएको र आफूमाथि गोली प्रहार गर्ने व्यक्तिबाट खोसेको प्रारम्भीक बयान दिएका छन् । बिहीबार (आज) नै उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई हतियार तथा खरखजाना ऐन २०१९ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले बताए । लामालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

लामालार्इ अनुसन्धानका लागि १० दिन थुनामा राख्न जिल्ला अदालत काठमाडाैंले अनुमति दिएको छ ।

को हुन् गणेश लामा ?
हाल नेपाली कांग्रेसका नेतासमेत रहेका लामा पछिल्लो डेढ दशकदेखि गुण्डागर्दीमा संग्लन व्यक्ति हुन् । काभ्रेबाट काठमाडौं आएका लामाले लामो समयसम्म अर्का गुण्डा नाइके दीपक मनाङेको समूहमा रहेर काम गरेका थिए । पछि आफ्नै समूह बनाएका लामाको टोलीमा २० जनासम्म गुण्डाहरु रहेको प्रहरी स्रोत बताउँछ ।

२०६५ सालमा उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट राजनीतिमा प्रवेश गरेका थिए । विभिन्न होटल, रेष्टुरेन्ट र क्रसर उद्योगमा लगानी गरेका लामा पछिल्लो एक वर्षयता गुण्डागर्दीको क्षेत्रमा चर्चामा थिएनन् । फोरम र कांग्रेसबीच पार्टी एकता भएपछि लामा २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा काभ्रेबाट चुनाव लडेका थिए । ४० वर्ष लागेका लामा काभ्रेको प्रदेशसभा २ मा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए ।

यस्तो छ प्रहरी रेकर्ड 
यसअघि अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा लामा जेल परेका थिए । तर  निर्वाचनमा उम्मेदवारी दिएको भोलिपल्टै ३ करोड रुपैयाँ धरौटी तिरेर छुटेका थिए । उनको मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधिन अवस्थामा छ । काठमाडौं प्रहरीको रेकर्ड हेर्दा लामाविरुद्ध यसअघि ४ वटा मुद्दामा कारबाही प्रक्रिया अगाडि बढेको देखिन्छ । यस्तै, ललितपुर प्रहरीमा उनीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको देखिएको छ । तर त्यो मुद्दामा लामाले सफाइ पाइसकेका छन् ।

लामाविरुद्ध २०६६ असार १९ गते, ०६७ कात्तिक १९ गते र ०७० चैत २२ गते केही सार्वजनिक मुद्दा दर्ता भएको प्रहरी रेकर्डमा देखिन्छ भने २०६८ साउन ६ गते बैंकिङ कसुरमा मुद्दा दर्ता भएको देखिन्छ ।

प्रतिक्रिया