धादिङबेंसी म्याद नाघेका खाद्य सामग्री भेटियो

विदुर खबर २०७६ असोज ९ गते ७:३०

धादिङ । जिल्ला अनुगमन समितिले सदरमुकाम धादिङबेंसी बजार क्षेत्रमा उपभोग्य सामग्रीका पसल, होटल, किराना पसल, मिठाइ पसल गरी १० वटा पसलमा अनुगमन गरी अखाद्य वस्तु र म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको छ ।

Advertisement

अनुगमनका क्रममा पसलका लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्य वस्तु, म्याद गुज्रिएको सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, विभिन्न प्रकारका पेयपदार्थ, रङ प्रयोग गरी बनाइएको जेरी मिठाइका परिकारलगायतका सामग्री भेटिएको र सबै सामग्री बरामद् गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक अर्जुनप्रसाद शर्माले बताउनुभयो । चाडबाडको समयमा मात्र अनुगमन गर्ने गरिएकामा अब नियमित अनुगमन गरिने र होटललाई मापदण्डका आधारमा स्टिकरसमेत वितरण गरिने योजना रहेको शर्माको भनाइ छ ।

प्रतिक्रिया