नेपाल एसियामै पहिलो खुला दिसामुक्त देश बन्दै

विदुर खबर २०७६ असोज ८ गते ९:५३

नुवाकोट । नेपाल दक्षिण एसियामै पहिलो खुल्ला दिसामुत्त देश बन्ने भएको छ ।

नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न खानेपानी तथा सरसफाई मन्त्रालयले तयारी तिब्र पारेको छ। सरकारले असोज १३ गते देशलाई खुला दिसामुक्त गर्ने मिति तय गरेको छ। २०६८ सालदेखि सञ्चालन भएको अभियान अहिले ७७ वटै जिल्ला खुला दिसामुक्त भएको खानेपानी तथा सरसफाईमन्त्री बीना मगरले बताईन्। मन्त्री मगरका अनुसार शतप्रतिशत भन्दा पनि खुला दिसामुक्त हुन पर्याप्त काम भइसकेकाले असोज १३ गते घोषणा हुने जानकारी दिइन्। खुला दिसामुक्त घोषणा भइसकेपछि सरसफाइको कार्यक्रमहरु हुँदै जाने उनको भनाई छ।

राष्ट्रिय सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव तथा ढल व्यवस्थापन तथा वातावरणिय शाखा प्रमुख देवेन्द्र झाका अनुसार १९९० को दशकमा २ प्रतिशत घरमा शौचालय रहेको नेपालमा अहिले ५६ लाखभन्दा बढी शौचालय बनेको झाले जानकारी दिए। झाका अनुसार नेपालमा  ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनेको छ। जसअन्तर्गत काठमाडौंमा चार लाख ३६ हजार तीन सय ४४ घरधुरीमा शौचालय बनेको छ। विभागले काठमाडौंमा एक घर, एक शौचालयको आधारमा गणना गरेको जनाएको छ।

०६८ सालमै अभियान सुरु भएपनि २०७२ सालको विनाशकारी भूकम्पले अधिकांश जिल्लामा शौचालय पनि तहसनहस बनेको थियो। पूनःर्निर्माणले गति लिएसँगै शौचालय पनि तिब्र गति भएको थियो। कास्की नेपालमा पहिलो खुला दिसामुक्त जिल्ला भएको थियो। सदस्य सचिव झाले सबै प्रदेश शतप्रतिशत शौचालय बनेको दाबी गरेका छन्। उनका अनुसार प्रदेश नम्बर १ रहेको ९ लाख ६५ हजार २ सय ७२ घरमामध्ये सबै घरधुरीमा शौचालय बनेको छ। खुला दिसामुक्त घोषणा गर्न प्रदेश २ मा निकै गाह्रो रहेको बताइन्छ। तर ९ लाख २३ हजार ७ सय ४९ घरधुरी रहेको प्रदेश नम्बर २ मा पनि सबै घरमा शौचालय बनेको झा दाबी गर्छन्। पहिलाको तराई र अहिलेको तराईमा फरक रहेको बताउँदै उनले भने ‘घर आँगन सफा छ, शौचालय बनेको छ।’ त्यस्तै सबैभन्दा बढी घरधुरी रहेको प्रदेश नम्बर ३ मा पनि एक घर एक शौचालय बनेको उनको दाबी छ। उनका अनुसार १६ लाख २२ हजार १ सय ३३ घरधुरी ३ नम्बर प्रदेशमा रहेछ। गण्डकी प्रदेशमा ५ लाख ४८ हजार २ सय १० घरधुरीमा शौचालय बनेको बताइएको छ। ७ लाख ९३ हजार ९ सय ९० घरधुरी रहेको प्रदेश नम्बर ५ मा पनि सबै घरमा शौचालय निर्माण गरेको उनको दाबी छ।

उनका अनुसार ३ लाख ७९ हजार ६५ घरधुरी रहेको कर्णाली प्रदेशमा पनि सबै घरधुरीमा शौचालय बनेको छ। सुदूरपश्चिम प्रदेशमा ४ लाख ९८ हजार १२ घरधुरी रहेकोमा सबै घरमा शौचालय बनेको उनले दाबी गरे। वडा कार्यालय, पालिका, प्रदेश हुँदै केन्द्रमा उक्त तथ्याङ्क आएको उनको भनाई थियो। भूमिहिन र राउटेको समस्या भएपनि पालिकामा बजेट छुट्याएर समेटिएको मन्त्रालयको दाबी छ। सार्वजनिक ठाउँमा शौच गरे जरिवाना लगाउने पालिकाले निर्णय गरेको उनले बताए।

दक्षिण एसियामै पहिलो हुने हतारमा घोषणा
छिमेकी देश भारत (अक्टोबर २) असोज १५ गते खुला दिसामुक्त देश घोषणा हुँदैछ। दक्षिण एसियामा हालसम्म कुनै पनि देश खुला दिसामुक्त भएका छैनन्। यदि असोज १३ गते नेपाल खुला दिसा मुक्त घोषणा भए दक्षिण एसियामै पहिलो देश हुनेछ। भारतले १५ गते खुला दिसामुक्त देश घोषणा गर्ने भएकाले हतार हतारमा नेपालले असोज १३ गतेनै घोषणा गर्न लागेको मन्त्रालयका कर्मचारी बताउँछन्।

त्यसोत हतारकै कारण नेपालमा कति सार्वजनिक शौचालय आवश्यक छ भन्ने पनि मन्त्रालय र विभागमा कुनै तथ्याङ्क छैन्। झा भन्छन् ‘सार्वजनिक शौचालय कति चाहिन्छ भन्ने डाटा छैन्। सार्वजनिक शौचालय नबनेको भन्दा पनि अपुग चै छ।’ उनले भने ‘असोज १३ गतेपछि खुला दिसामुक्त भएको ट्याग पाउँछौं।’

नागरिक दैनिकबाट

Advertisement

 

प्रतिक्रिया