नेपाल विद्युत प्राधिकरणकाे २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने तयारी

विदुर खबर २०७६ भदौ २९ गते २१:३६

नेपाल विद्युत प्राधिकरणले कम्पनीको २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न पहल गर्ने भएको छ । प्राधिकरणले मन्त्रीपरिषदबाट स्वीकृत भएको दोस्रो वित्तीय पुनसंरचनामा भएको व्यवस्था र प्राधिकरणको ऐनमा भएको व्यवस्था अनुरुप सर्वसाधारणमा शेयर जारी गर्न पहल गर्ने भएको हो ।

Advertisement

विद्युत प्रणलीलाई स्वचालित बनाउन स्मार्ट मिटर

नेपाल विद्युत प्राधिकरणले विद्युत प्रणलीलाई स्व:चालित बनाउन स्मार्ट मिटर जडान गरी टेलिफोन सेवाजस्तै स्व:चालित विलिङ लागू गर्ने भएको छ ।

Advertisement

प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले हाल मिटर रिडिङको लागि ग्राहकको घरमै जानुपर्ने व्यवस्थालाई अन्त्य गर्न थ्रिफेज मिटर तथा टि.ओ.डि मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने जनाएका छन्।

प्राधिकरणले स्मार्ट मिटरलाई काठमाण्डौ उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन ठेकदार समेत छनोट गरिसकेको छ। त्यसैगरी प्राधिकरणले अनलाइन तथा एकीकृत भुक्तानी प्रणाली अबलम्बन गरी ग्राहकलाई थप सुविधा उपलब्ध दिने जनाएको छ।

  • ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखि अघि बढ्ने
Advertisement

विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्य ध्यान केन्द्रित रहेको प्राधिकरणको लोडसेडिङ अन्त्यपछि अब भने ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर सोही अनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेशन सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अघि बढाउने जनाएको छ।

प्राधिकरणले आगामी दिनमा वर्षायाममा उत्पादित विद्युतलाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गर्ने जनाएको छ।

जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरूलाइ आगामी दिनमा गेम चेञ्जर आयोजनाको रुपमा अघि बढाउने प्राधिकरणले जनाएको छ ।

  • आगामी वर्ष साढे ८ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाउने लक्ष्य

गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले आगामी वर्ष सञ्चालन खर्चमा न्यूनिकरण, स्व उत्पादनमा बृद्धि, र विद्युत चुवावट घटाउँदै साढे ८ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाउने लक्ष्य राखेको छ ।

  • संस्थागत सुसनासनलाई कठोरताका साथ लागू गरिने

घिसिङले संस्थागत सुशासनलाई कठोरताका साथ लागू गर्ने र भष्ट्राचार नियन्त्रणमा शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइने जनाएका छन्।

उनले आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्नसक्ने गरि वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गर्ने बताए। विद्युत खपतको दायरालाई विस्तार गर्न विद्युतीय यातायातका लागि चार्जिङ स्टेशन, विद्युतीय चुल्हो जस्ता विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने छ ।

  • चालु आर्थिक वर्षमा एक हजार मेगावट विजुली प्रणालीमा थपिने

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षभित्रै १ हजार मेगावट विद्युत प्रसारण लाइनमा थपिने गरी कार्य अगाडि बढाएको छ । प्राधिकरणले ४५६ मेगावटको माथिल्लो तामाकोशी, १११ मेगावटको रसुवागढी, १४.८ मेगावटको माथिल्लो साञ्जेन र अन्य निजी जलविद्युत आयोजनाहरु गरी करिब हजार मेगावट विद्युत प्रणालीमा थपिने गरी कार्य अघि बढाएको हो। त्यसैगरी प्राधिकरणले १०६० मेगावटको माथिल्लो अरुण, ९९.६ मेगावटको तामाकोशी पाँचौ जलविद्युत आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत शेयर सुनिश्चित गरी स्वदेशी वित्तीय संस्था र विदेशी बहुपक्षीय विकास साझेदारको सहुलियतपुर्ण ऋण रहेने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अघि बढाउने जनाएको छ।

 

प्रतिक्रिया