सांसदहरुद्धारा सिस्डोल र बञ्चरेडाँडाको स्थलगत अनुगमन

विदुर खबर २०७६ भदौ २४ गते ६:२५

नुवाकोट । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिस्डोल र स्यानिटरी ल्याण्डफिल्ड साइड निर्माण भइरहेको बञ्चरेडाँडाको स्थलगत अनुगमन गरेको छ ।

Advertisement

अनुगमनका क्रममा नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनिवेशी नगरपालिका र काठमाडौँको तारकेश्वर नगरपालिकाका केही वडाका स्थानीयवासीले फोहरको दुर्गन्धले बस्न नसक्ने अवस्था रहेकाले सही तरीकाले व्यवस्थापन हुनुपर्नेमा समितिका ध्यानाकर्षण गराएका थिए । सिस्डोलमा तीन वर्षका लागि भनी विसं २०६२ जेठ २२ गतेदेखि उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको थियो । १४ वर्षसम्म पनि सिस्डोलमै फोहर व्यवस्थापन गर्दा यस क्षेत्रको करीब १५० रोपनी खेतमा उत्पादन हुन छोडेको, कोल्पुखोलाको पानीमा फोहरको लिच्चड मिसिएर क्यान्सरले करीब ५० जनाको निधन भएको, रोगको संक्रमण फैलन सक्ने भएकाले अन्यत्र व्यवस्थापन गर्न माग गरेका छन् ।

तीन महीना अघिदेखि बिग्रिएको सिस्डोल भएर चल्ने सडक फोहरको पहिरोले थुनिँदा पनि काठमाडौँ महानगरपालिका लगायत सरोकार भएका निकायले बनाउन ध्यान नदिएको ककनी गाउँपालिका वडा नं. २ का अध्यक्ष केदार पौडेलले बताउनुभयो । जसका कारण नुवाकोट र धादिङका ५०० परिवारका करिब ५० हजार मानिस प्रभावित भएका छन् । अनुगमनमा समिति सभापति कल्याणीकुमारी खड्का, सांसदहरु जीपछिरिङ लामा, बहादुरसिंह लामा, टेकबहादुर बस्नेत, विनाकुमारी श्रेष्ठ, नारायण खतिवडा, हितबहादुर तामाङ, ३ नं. प्रदेशसभा सदस्य बद्री मैनालीलगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । फोहरबाट पीडित स्थानीयवासीको गुनासो सुनिसकेपछि सभापति खड्काले सरोकार भएका निकायका अधिकारीलाई समिति बैठकमा बोलाइ समस्या समाधानका पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

Advertisement

सिस्डोलको दुई किमी पर निर्माण भइरहेको बञ्चरेडाँडाको स्यानिटरी ल्याण्डफिल्ड साइड निर्माणमा ढिलाइ भइरहेको भन्दै स्थानीयवासी श्रीराम ढुङ्गानाले सभापति खड्का छिटो निर्माणको पहल गरिदिनुहुन भनी ज्ञापनपत्र बुझाउनुभएको थियो । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापनपत्र बुझाउन लागिएको उहाँले जानकारी दिनुभयो । बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइड मङ्सिर १ गतेदेखि सञ्चालनमा ल्याउने भनिएपनि काम सुस्त रहेको स्थानीयवासीको भनाइ छ । शहरी विकास तथा भवन निर्माण विभागले यो संरचना निर्माण गरिरहेको हो ।

प्रतिक्रिया