महिला वेचविखनको अभियोगमा पक्राउ परेका वडाअध्यक्ष सुनबहादुर तामाङ रिहा

विदुर खबर २०७६ साउन १ गते १७:५६

नुवाकोट साउन १, नुवाकोटका करीव ४०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले २०७४ चैत ९ गते ३७ वर्ष कैद सजाय दिएको नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाअध्यक्ष सुनबहादुर तामाङ उच्च अदालत पाटनको आदेशमा रिहा भएका छन् ।

Advertisement

उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै तामाङलाई सफाइ दिने फैसला गरेको हो । उनी २०६८ सालको एउटा मुद्दामा फरार रहेको तथ्य फेला परेपछि सिविआईले २०७४ माघ ५ गते शुक्रवार काठमाडौं जिल्ला अदालतमा वयानका लागि उपस्थित गराएपछि अदालतले उनलाई ८ लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनि पुन पक्राउ परेका थिए । नुवाकोटका करीव ४०० महिलालाई बेचेको, वेश्यालय चलाएको अभियोगमा जिल्ला अदालत नुवाकोटले २०७४ चैत ९ गते तामाङलाई ३७ वर्ष कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । नुवाकोटकै दुई महिलाले तामाङविरुद्ध मानव बेचबिखन गरेको उजुरी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरी मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता गरेको थियो। तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत नुवाकोटले २०७४ चैत ९ गते ३७ वर्ष ६ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको हुनाले सो फैसला कार्यान्वयन गराउन उनलाई प्रहरीले पुन प्रक्राउ गरेको थियो । भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीन जना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत २०७४ पुस ७ गते पक्राउ गरी मानव बेचबिखनको मुद्दा काठमाडौँ जिल्ला अदालतमा समेत दायर गरेको थियो ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्दाका आरोपित अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने सोहि समय मुल्तवीमा राखिएको थियो  । उनीहरु हालसम्म  फरार रहेका छन् । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला भएको थियो । प्रहरीका अनुसार तामाङले भारतको नयाँ दिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोनागार्छे १५, कोलकत्ता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन्। उनको दिल्लीमा ३५, सोना गार्छेमा २७ कोलकत्तामा १५ र मुम्बईमा ८ जना युवतीहरू रहेको बताईएको थियो । पीडितको बयानका आधारमा सबै कोठी उनकी श्रीमती राधा तामाङले चलाइरहेकी थिइन्। उच्च अदालतको फैसलामा ‘कसुरदार कायम गरि सजाय गरेको सुरु नुवाकोट जिल्ला अदालतको ७ चैत ०७४ को फैसला मिलेको नदेखिदा सुनबहादुर तामाङले सफाइ पाउने ठहर्छ’ भनिएको छ।

Advertisement

प्रतिक्रिया