नयाँ नेकपा : नेतृत्व मात्रै होइन, कार्यशैली पनि पुरानै
नुवाकोट । एक दर्जन घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको नाम नयाँ लाग्छ ।

पार्टीको नाम नयाँ भए पनि यसको नेतृत्व, उनीहरूको कार्यशैली र सन्देशमा खासै नयाँपन केही देखिँदैन । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र साना घटक मिलाएर ठूलो आकारको पार्टी बनाउन खोजिएको छ ।
२०४८ देखि हालसम्म ‘क्रमभंग’ गर्दै आएका नेकपाका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनलगत्तै एक दर्जन दल र घटक मिलाएर कम्युनिस्ट पार्टी बनाइ आफैं प्रमुख बनेका छन् ।

तर नेकपाको नेतृत्वको अनुहार हेर्दा नयाँपन देखिँदैन । पार्टीको कार्यदिशाको भाषाशैली संशोधन भए पनि सार उस्तै छ । नाम नयाँ, रूप नयाँ भए पनि त्यसको सार नयाँ हुनेमा प्रश्न छ । पार्टीको संयोजक दाहाल आफैं ३६ वर्षदेखि पार्टीको नेतृत्वमा छन् । सहसंयोजक माधवकुमार नेपाल १५ वर्ष एमालेको महासचिव, ४ वर्ष एमालेबाट विभाजन भएपछि बनेको एकीकृत समाजवादीको अध्यक्ष भइसकेका छन् ।
तेस्रो वरीयतामा पूर्वएमाले अध्यक्ष झलनाथ खनाल, चौथो वरीयतामा एमाले पूर्वउपाध्यक्ष वामदेव गौतम छन् । यी चारवटै नेताले ७० वर्ष पार गरिसकेका छन् । यसरी हेर्दा नयाँ नेकपाको नेतृत्वमा उनै पुराना नेताहरूको हालीमुहाली छ । जेनजी आन्दोलनले सबै पार्टीमा नेतृत्व र कार्यशैलीमा रूपान्तरणको माग गरेको थियो तर पुराना दलहरूले त्यसलाई बिस्तारै बिर्संदै गएका छन् । पुरानै शैलीमा फर्कन थालिसकेका छन् । त्यसको पछिल्लो उदाहरण नेपाली कम्युनिस्ट पार्टी हो ।
कात्तिक १९ मा माओवादी, एकीकृत समाजवादी र अन्य घटकको एकतापछि नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको थियो । एमाले पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि अभियान कात्तिक २६ मा नेकपामा मिसियो । त्यसपछि सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णय भएअनुसार अहिले त्यो कार्यक्रम जारी छ ।
संयोजक दाहालले धनगढी, दाङ, पोखरा र विराटनगरमा भएका प्रदेशस्तरीय ‘सन्देश’ सभामा आफू बदलिएर आएको दाबी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत १५ घटक मिलेर नयाँ दल बनाई जेनजी आन्दोलनको भावनाअनुसार कार्यशैली, व्यवहार, विचार रूपान्तरण गरेर आएको उनको भनाइ छ । तर धनगढी, दाङ, पोखरा र विराटनगरमा भएका सभाको मञ्चलाई मात्र हेर्यो भने अनुहार, बोली, शैली र सन्देशमा नवीनता केही देखिँदैन ।
वाम एकताको सन्देश दिन भएका सभाका मञ्चहरूमा विगत दुई दशकदेखि देखिँदै आएका नेताहरूको बाहुल्य छ । दाहाल, नेपाल, खनाल, गौतम मात्रै होइन, नारायणकाजी श्रेष्ठ र भीम रावल जस्ता उमेर छिप्पिदै गएका नेताहरूले मञ्च भरिएको देखिन्छ ।
आशन ग्रहण, नेताको गलामा लगाएको माला, उनीहरूले दिने भाषणमा कुनै नयाँ सन्देश देखिँदैन । नेताहरूले गर्ने भाषणमा ‘जेनजी आन्दोलन’ शब्द जोड्ने बाहेक अरु पुरानै शैली छ । संयोजक दाहालचाहिँ आफ्नो भाषणमा अरु वक्ताभन्दा मसला थपेर रङ भर्ने क्षमता राख्छन् ।
सहसंयोजक नेपाल आफूमाथि काभ्रेको पतञ्जली जग्गा प्रकणमा मुद्दा लागे पनि वास्ता नगरी आफूलाई इमान्दार छवि भएको नेताका रूपमा प्रस्तुत गर्छन् । उनले आफ्ना हरेक भाषणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठुङ्छन्, व्यंग्य गर्छन् । अर्का नेता खनालको ‘मार्क्सवाद’ को व्याख्या गर्ने परम्परागत शैली उस्तै छ । नेता गौतमले सभामा जोश भर्ने कोसिस गरे पनि सहभागीले पत्याएका छैनन् । किनकि, यी सबै नेता पटक–पटक परीक्षण भइसकेका छन् ।
संयोजक दाहाल, सहसंयोजक नेपाल धनगढी, दाङ, पोखरा र विराटनगरका कार्यक्रममा पुरानै शैलीमा प्रस्तुत भए । जेनजी आन्दोलनपछि पुराना दलहरूमाथि प्रश्नैप्रश्न भए पनि दाहाल, नेपाललगायत नेताहरूले ‘आफ्नो दल र आफू नै सही’ भएको जिकिर गरे । सोमबार विराटनगरको सभामा दाहालले वाम एकताले मात्र चुनौती सामना गर्न नसकिने बताए । ‘कम्युनिस्ट र वामपन्थी मात्रै मिलेर देशका सबै चुनौती हल हुन्छन् भन्नु मूर्खता हुन सक्छ,’ दाहालले भने, ‘लोकतन्त्रवादी, प्रगतिशील सबै शक्तिले हातेमालो गरे मात्रै राष्ट्रको संकट समाधान हुन्छ ।’ उनले एमाले अध्यक्ष ओलीबाहेक अरुसँग एकता हुने पत्रकारहरूसँग बताए । ‘केपी ओलीबाहेक सबै समेटिन्छन्,’ उनले भने ।
आइतबार पोखराको सभामा प्रमुख नेताहरूको गलामा दूबोको माला थियो । मञ्चमा उनै पुराना चिरपरिचित अनुहार थिए । दुलाहजस्तै माला लगाएर पोखरामा दाहालले नेकपा राष्ट्रिय शक्ति बन्ने दाबी गरे । ‘राष्ट्रिय शक्ति निर्माणको सभा हो,’ उनले ओलीको आलोचना गर्दै भने, ‘केपी ओलीको हावादारी, दम्भी प्रवृत्तिमाथि ढिलोचाँडो विजय हासिल गर्नेछन् । बृहत् वाम एकता त्यही बिन्दुबाट अघि बढ्नेछ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नयाँ नेकपा : नेतृत्व मात्रै होइन, कार्यशैली पनि पुरानै
अब म्यादी होइन, निर्वाचन प्रहरी
बिनाब्याज ऋण दिने बागमती सरकारको तयारी
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर
रसुवाबाट एमालेको महाधिवेशनका लागि ८ प्रतिनिधि चयन 





प्रतिक्रिया