धादिङमा तीन प्रहरी चौकी पुन:स्थापना

नुवाकोट । जिल्ला प्रहरी कार्यालय फर्काइएका धादिङका ११ प्रहरी चौकीका प्रहरीलाई पुन: चौकीमा पठाउन थालिएको छ ।

जेनजी समूहको प्रदर्शनका कारण सुरक्षाकर्मी स्वयं असुरक्षित बन्न थालेपछि धादिङका विभिन्न प्रहरी चौकीबाट प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरिएको थियो ।
अवस्था सामान्य बन्दै गएको भन्दै पुनः जिल्ला सुरक्षा समितिको बैठकले उनीहरुको पुन:स्थापना थालिने निर्णय शुक्रबार गरेपछि शनिबार तीमध्ये सदरमुकाम धादिङबेंसीको पुछारबजारमा रहेको चौकी, गल्छी चौकी र महादेवबेंसी चौकी पुन:स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिल्ला प्रहरी प्रमुख र अनुसन्धान प्रमुखसहितको टोली स्वयं चौकी पुगेर स्थानीयको सहायतामा प्रहरीको पुन:स्थापना गरेको हो ।
प्रहरी फर्किएसँगै स्थानीय जनप्रतिनिधि र बासिन्दाले अबिर, फूल र खादाले प्रहरीको स्वागत गरे । उनीहरूले सुरक्षाकर्मी फर्किनु आफ्नो सुरक्षाका लागि अपरिहार्य भएको बताउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
देश संवेदनशील अवस्थामा पुग्दा चौकीबाट प्रहरी फर्किएपछि अभिभावकविहीन भएको अनुभूति भएको भन्दै पुन: चौकी फर्किएका प्रहरीलाई स्थानीयको साथ रहने गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले बताए ।
जिल्ला प्रहरी प्रमुख भेषराज रीजालले प्रहरी सदैव जनताको सुरक्षाका लागि खटिने भन्दै आगामी दिनमा प्रहरीको गतिविधि अझ समुदायमैत्री बनाउन जोड दिने बताए ।
चौकी पुनःस्थापनासँगै स्थानीयले शान्ति र सुरक्षाप्रति आशा व्यक्त गरेका छन्। उनीहरूका अनुसार प्रहरी चौकी पुनः सञ्चालन हुनु भनेको अपराध नियन्त्रण, न्यायिक प्रक्रिया सजिलो हुनु र दैनिकी सहज हुनु हो स्थानीयले बताएका छन् ।
धादिङमा अझै ८ चौकीमा प्रहरी पुन:स्थापना गर्नुपर्ने छ । उनीहरुको पनि क्रमश: पुन:स्थापना गरिने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया