वाग्मती प्रदेशमा सवारी लाइसेन्सको ७० अंकभार प्रणाली फागुन ३ बाट लागू हुने

विदुर खबर २०७९ माघ २९ गते २०:२४

नुवाकोट । वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले फागुन ३ गतेबाट चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न लिने ट्रायलमा सय पूर्णाङ्कमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रणाली लागू गर्ने भएको छ ।

Advertisement

यातायात व्यवस्था विभागले यस्तो प्रणाली यसअघि पटकपटक लागू गर्न खोजे पनि प्रदेश मुख्यमन्त्री कार्यालयले रोक्दै आएको थियो । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको चौथो पटकको प्रयासपछि यो प्रणाली लागू हुने भएको हो ।

वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाले अंकभार प्रणाली लागू हुने जानकारी दिए । उनले प्रदेशको काठमाडौं उपत्यकाका चार र हेटौंडाको एक स्थानसमेत पाँच ठाउँका यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले लाइसेन्सको प्रयोगात्मक परीक्षा लिने छन् । परीक्षार्थीले एक सय पूणाङ्कमा ७० अंक प्राप्त गरेमा प्रयोगात्मक परीक्षा उत्तीर्ण हुने छन् ।

Advertisement

काठमाडौंको भक्तपुर, चाबहिल, ठूलोभर्‍याङ र एकान्तकुनाका यातायात कार्यालयले परीक्षा लिनेछन् । यातायाता व्यवस्था विभाग एकान्तकुनास्थित सवारी लाइसेन्स अनुमति पत्र कार्यालयका प्रमुख राजकुमार कपालीले आफूहरु उक्त प्रणाली लागू गर्न तयार रहेको जानकारी दिए ।

सोमबार बिदा परेको र मंगलबार लिखित परीक्षा गरेर बुधबार पहिलो पटक ७० अंकभार प्रणाली लागू हुने उनले बताए । कपालीका अनुसार उपत्यकाका चारै स्थानबाट यही प्राणाली अनुसार परीक्षा हुन्छ । ‘यही प्रणाली अनुसार परीक्षा गराउने तयारी भएको छ,’ उनले भने । मुलुकका चारवटा प्रदेशमा लागू भइसकेको अंक प्रणाली वाग्मतीले भने गत असोजदेखि तीन पटक रोकेर अहिले लागू गर्न लागेको हो ।

Advertisement

प्राणाली लागू गर्न अन्तिम तयारी गरिरहेका बेला मुख्यमन्त्री कार्यालयले गत पुस १४ गते श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर थप अध्ययन गर्नुपर्ने भन्दै रोक लगाएको हो । यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले गत असोज २ गते र मंसिर १८ गते प्रणाली लागू गर्न रोक लगाएका थिए ।

 

प्रतिक्रिया