‘पुष्पलाल, मदन र मनमोहनको तस्बिर फ्याँक्नु केटाकेटीपन’

विदुर खबर २०७५ वैशाख १३ गते ७:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ९ गते सभागृहको हलमा लेनिनको तस्बिर नराखिएकोमा हुलदङ्गा हुनुलाई ‘केटाकेटीपन’को संज्ञा दिएका छन् । उनले कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठ, जनताको बहदलीय जनवादका प्रणेता मदन भण्डारी र नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको महत्त्व नबुझेको जिकिर गरे ।

बिहीबार राजधानीमा आयोजित मनमोहन अधिकारीको १९ औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धि र स्थायित्व दिन एमाले र माओवादी केन्द्रबीचको निकट भविष्यमा हुने बताएका छन् ।

“पुष्पलालको सपना नेपालको कम्युनिष्टहरु एक बनाउनेमा थियो, “ओलीले भने, “उहाँका सपना हामी निकट भविष्यमै पूरा गर्दैछौँ । कम्युनिष्ट एकताले मनौवैज्ञानिक र राजनीतिक रूपले नेपालको परिवर्तनमा ठूलो परिवर्तन ल्याउँछ ।’“

उनले एमाले र माओवादी केन्द्रबीचको एकता नेताको लागि भन्दा पनि देश र जनताको लागि आवश्यकत रहेको भएको जोड समेत दिए । “म कहाँ हुन्छु ? मेरो भविष्य के हुन्छ ? हामी कति हुन्छौँ भन्ने जस्ता कुराहरुले अलि अनावश्यक चर्चा पाउँदा जनतामा शंका पैदा भएको छ । तर, सबैलाई स्पष्ट गर्न चाहन्छु केही केहीले त्यतापट्टी ध्यान दिएपनि आम कार्यकर्ता जनता र नेताको ध्यान देशको भविष्य बनाउने दिशामा छ । अब देशमा अग्रगामी परिवर्तन ल्याउनु छ,” ओलीले भने ।

पार्टी एकताको लागि माओवादी केन्द्रले बराबरी र समान हैसियत खोजिरहेको बेला एमाले अध्यक्ष ओलीले एकताको लागि कसैले घमन्ड गर्न नहुनेसमेत बताए ।

“हाम्रो आन्दोलन एउटा उचाईमा पुगेको छ । साथीहरु प्रतिक्षारत हुनुहुन्छ । हामी सुदृढ एकीकृत पार्टी बनाउँदैछौँ । आधारभूत रूपमा निकट भविष्यमा पूरा गर्छौं । अब नयाँ केही चिज उम्रने होइन । तर, त्यसले केही सन्देश दिनेछ । बालुवा बालुवा नै हुन्छ । गिटि गिटि नै हुन्छ । त्यसलाई एकता गरियो भने प्लास्टर हुन्छ । हामी त्यसै गरेर त्यहीँ साम्रगी प्रयोग गरेर एकता गर्दैछौं । अलिकति समस्या मात्र उपयुक्त हुन्छ कि हुँदैन भन्ने मात्र छ ।

उपयुक्त मात्र भएन भने नजम्ला कि भन्ने पिर छ । यस्तो बेलामा के हुन्छ भने गिटिले मेरो महत्त्व बढी छ, म बढी चाहिन्छ भन्छ । बालुवाले म बढी चाहिन्छ भन्छ, पानिले फुक्का भयो भने जम्दैन है भन्छ । सिमेन्टले आफ्नो महत्व बढी भन्छ । पार्टी एकतामा पनि यस्ता कुराहरू आउँछन् । तर, हामीले त्यसको उपयुक्त मिलान उपयुक्त जडान गरेर पार्टी एकता गर्छौं । अलिकति तलमाथि पर्यो, पानी अलिकति बढि भयो भने जम्न समय लाग्छ ।”

उनले मनमोहनको आन्दोलनालाई सफल बनाउन सेवा दिने उदेश्यले मनमोहन हस्पिटल खोलिएको जिकिर समेत गरे । “स्मृतिलाई भन्दा पनि मनमोहनको आन्दोलनलाई सफल बनाउन देशप्रति समर्पित भएर मनमहोन हस्पिटल हामीले सञ्चालनमा ल्याएका छौँ । त्यसले सदैव उहाँको आत्मलाई शान्ति मिल्नेछ,” ओलीले भने ।

प्रधानमन्त्री ओलीले पुष्पलाल, मदन भण्डारी र मनमोहनको नसम्झेमा नेपालको कम्युनिष्ट आन्दोलन जिउँदो नरहने दावी समेत गरे । “अस्ति पार्टी स्थापनाको दिन केटाकेटीले मनमोहन, पुष्पलाल र मदन भण्डारीको तस्बिर फ्याँके, उहाँहरूको योगदान केटाकेटीले पछि बुझ्नेछन् । उहाँहरूलाई हामीले नसम्झेमा नेपालको कम्युनिष्ट आन्दोलन जिउँदो रहदैन । उहाँहरूको तस्बिर हामीले फ्याक्नु हुँदैन,” उनको कटाक्ष थियो ।
फाइल तस्बिर

Advertisement

प्रतिक्रिया