जनजागृति सामुदायिक वन उपभोक्ता समुहको भवन शिलान्याश

विदुर खबर २०७६ माघ ११ गते २०:२०

नवराज चौलागाईं, बारा । श्री जनजागृति सुन्दर सामुदायिक वन उपभोक्ता समुह निजगढ वडा नम्बर ५ को ९ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमको उद्घाटन प्रदेश सांसद त्रिलोकी चौधरी र निजगढका मेयर सुरेश कुमार खनालले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसद चौधरीले वन समूहको कार्यालय परिसरमा निर्माण हुन लागेको सामुदायिक भवन निर्माणका लागि संसदीय विकास कोष मार्फत २० लाख रुपैंया सहयोग गर्ने र आगामी वर्ष थप १५ लाख रुपैंया विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । सांसद चौधरीले सामुदायिक वनको माध्यमबाट समुदायको जीवनस्तर उकास्न सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुँदै यसलाई जोगाएर राख्न समुदायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । यस्तै निजगढका मेयर सुरेश कुमार खनालले सामुदायिक वनको माध्यमबाट पर्यटकीय गतिविधि संचालन गर्न सकिने भएकाले वन उपभोक्ता समुहलाई पर्यटकीय क्षेत्रका रुपमा वनलाई रुपान्तरण गर्न उपभोक्ता समुहलाई आग्रह गर्नुभयो ।

जसकालागि नगरपालिकाले छिट्टै नै वन प्राविधिकको व्यवस्था गर्न लागेको मेयर खनालले बताउनुभयो । वनको माध्यमबाट नगरको कृषि क्षेत्रको समेत बिकास गर्न सकिने भएकाले समुहका सदस्यहरुको आर्थिक स्तर वृद्धि हुने खाल्को विविध कृषिजन्य कार्यक्रमहरुको संचालन गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रमकैबिच सामुदायिक भवनको समेत शिलान्याश गरिएकोछ । नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको सामुदायिक भवनको प्रदेश सांसद चौधरी र मेयर खनालले संयुक्त रुपमा शिलान्याश गर्नुभयो ।

Advertisement

सामुदायिक भवन निर्माणको योजनाकासाथ नगरपालिकाले गत वर्ष १० लाख रुपैंया विनियोजन गरेकोथियो । शिलान्याशको क्रममा मेयर खनालले भवन निर्माणमा थप आवश्यक सहयोग गर्न नगरपालिका सकारात्मक रहेको जनाउनुभयो । शिलान्याश भएको सामुदायिक भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।

प्रतिक्रिया