तारकेश्वर गाउँपालिकाका एकसय घरपरिवारलाई लक्ष्मी फाउन्डेसनद्दारा खाद्य सामाग्री वितरण

विदुर खबर २०७७ जेठ ३० गते १७:३९

       राहात वितरण गर्दै वडा नम्बर ४ का वडाध्यक्ष राममणि अधिकारी र लक्ष्मी फाउनडेसनका सदस्य रामकाजी थापा ।

वुधसिंह । तारकेश्वर गाउँपालिका वडा नम्बर ४ को ढोड, छाप, पुरानो बुधसिंह र देउरालीका असहाय, दलित र शारीरिक रुपमा फरक क्षमता भएका एकसय तीन घरपरिवालाई लक्ष्मी सर्पाेट फाउन्डेसन नेदरल्याण्डले शुक्रवार खाद्य सामाग्री वितरण गरेको छ ।

Advertisement

शुक्रवार वडा नम्बर ४ मा लक्ष्मी फाउन्डेसनको आर्थिक सहयोग र वडा नम्बर ४ वडा कार्यालयको समन्वयमा लकडाउनको कारण दैनिक खाना खान समेत कठिन भएका असहाय, दलित र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरु तथा ज्याला मजदुरी गरी गुजारा चलाउने एकसय तीन जनालाई खाद्य सामाग्री वितरण गरिएको हो । वितरण गरिएका खाद्य सामाग्रीहरुमा एक बोरा चामल, दुई किलो दालतेल, एककिलो नुन, दुई ओटा सावुन, र प्रत्येक व्यक्तिलाई ब्रस,मञ्जन र सर्जकल माक्स लगाएत रहेको लक्ष्मी सर्पाेर्ट फाउन्डेसनका सदस्य रामकाजी थापाले बताए । उनले आफुहरुले बन्दाबन्दीको समयमा काम गरेर खान नपाएका मानिसहरुलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

                                      राहात वितरण गर्दै लक्ष्मी फाउनडेसनका सदस्य रामकाजी थापा ।

त्यस्तै वडा कार्यालयको विशेष पहलमा दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गर्नेहरु तथा गाउँका दलित समुदायका व्यक्तिहरुलाई प्राथमिकता दिएर राहात वितरण गरेको वडाध्यक्ष राममणि अधिकारीले बताए ।
यस्तै लकडाउनका कारण दैनिक गुजारा गर्ने आफुजस्ता मानिसहरुका लागि यो राहात वरदान सावित भएको स्थानिय विनोद अछामीले बताए । उनले वडाले यसअघि वितरण गरेको खाद्यान्न पहिले नै सकिएकोले ज्याला मजदुरी गरेर दाने आफुजस्तो श्रमिकहरु लकडाउनकै कारणले समस्या परेको बताए । यसअघि लक्ष्मी फाउन्डेसनले तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिंहकै अन्नपुर्ण आधारभुत विद्यालयमा भौतिक र शैक्षिक सामाग्री सहयोग गरेको थियो ।

Advertisement

राहात वितरण कार्यक्रममा वडा सदस्यहरु तथा वडा सचिव चन्द्रनिधि घिमिरेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया