विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु

विदुर खबर २०८३ साउन ९ गते ११:२९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको सहकार्यमा वडावासीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण सुरु गरेको छ ।

Advertisement

दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि शनिवारदेखि विद्युतीय चुलो वितरण गरिएको विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले बताए ।

वडाध्यक्ष न्यौपानेले विद्युतीय चुलोको प्रयोगले घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा हुने निर्भरता कम गर्ने विश्वास व्यक्त गरे । उनले पहिलो चरणमा अहिले वडाका ५ सय घरपरिवारलाई चुलो वितरण गरिएको र आगामी दिनमा थप घरपरिवारलाई वितरण गरिने बताए ।

Advertisement

“देशको पैसा देशभित्रै राख्ने, वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने तथा नागरिकलाई सहज र किफायती रूपमा खाना पकाउने व्यवस्था उपलब्ध गराउने उद्देश्यले चुलो वितरण कार्यक्रम सञ्चालन गरेका हौँ”, वडाध्यक्ष न्यौपानेले भने । उनले आगामी चरणमा वडाका सबै घरपरिवारसम्म विद्युतीय चुलो पु¥याउने लक्ष्य रहेको समेत जानकारी दिए ।

यस्तै विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले विद्युतीय चुलो वितरण कार्यक्रमले नागरिकलाई उर्जाको वैकल्पिक व्यवस्था उपलब्ध गराउनुका साथै विद्युत्को प्रभावकारी उपयोगमा समेत टेवा पुग्ने विश्वास व्यत्त गरे ।

Advertisement

उनले देशमा पर्याप्त मात्रमा बिजुली रहेको र आगामी दिनमा थप बिजुली उत्पादन हुने देखिएकाले आफ्नै उत्पादनको प्रयोग गरेर देशको आर्थिक बचतमा टेवा पुग्नसक्ने विश्वसा व्यत्त गरे ।

यस्तै विदुर नगरपालिका वडा नम्बर ५ का वडासचिव शिवहरि गजुरेलले वडाले स्थानीयवासीको आवश्यकता र मागलाई ध्यानमा राख्दै कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको बताएका छन् ।

चुलो प्राप्त गरेका वडावासीहरूले अनुदानमा विद्युतीय चुलो पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनीहरूले ग्यासको बढ्दो मूल्य र आपूर्तिमा देखिने समस्याका बीच विद्युतीय चुलो घरायसी जीवनका लागि उपयोगी सावित हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारले एलपी ग्यासको आयात घटाउन र स्वदेशी विद्युतको खपत बढाउन स्थानीय तहमार्फत तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रजस्ता निकायमार्फत अनुदानमा विद्युतीय चुलो वितरण गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया