छोरीलाई हिरोइन बनाउँदै अशोक शर्मा

विदुर खबर २०७६ साउन २४ गते १५:३६
(छोरी कृतिको साथमा निर्देशक अशोक शर्मा)
Timure Yatayat Bus
नेपाली फिल्ममा स्टार किड्सको प्रवेश दिन-प्रतिदिन बढ्दो छ । गएको वर्ष फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना र ‘जानी नजानी’ बाट पुराना कलाकार विश्व बस्नेतकी छोरी निरीशाले डेब्यू गरे । यस वर्ष पुराना निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माका छोरा अंकितले फिल्म ‘रातो टीका निधारमा’ बाट फिल्मी करिअर सुरु गर्दैछन् ।

                                                                  छोरी कृतिको साथमा निर्देशक अशोक शर्मा

निर्देशक शर्मा आफ्नी छोरीलाई पनि फिल्ममा डेब्यू गराउने तयारीमा छन् । उनकी छोरी कृतिले अमेरिकामा बसेर फिल्म मेकिङ सम्बन्धि अध्ययन गरेकी छन् । दशैंमा प्रदर्शनमा आउन लागेको आफैं निर्मात्री रहेको फिल्म ‘रातो टीका निधारमा’ मा उनले पितालाई निर्देशनमा पनि सघाएकी छन् । फिल्म ‘पानीफोटो’ मा पनि कलाकार खगेन्द्र लामिछानेलाई उनले निर्देशनमा सघाउँदैछिन् । बलिउडमा करण जोहरले स्टार किड्सलाई फिल्ममा लञ्च गर्नुपूर्व आफ्नो ब्यानरमा निर्माण हुने फिल्ममा सहायक निर्देशकको रुपमा काम गराउने गरेका छन् । यसले एउटा कलाकारलाई फिल्म निर्माण र अभिनय सम्बन्धि ज्ञान हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसकारण निर्देशक शर्मा पनि आफ्नी छोरीलाई फिल्ममा लञ्च गर्नुपूर्व निखार्न चाहन्छन् । फिल्म मेकिङ बुझाउन चाहन्छन् । निर्देशक शर्माले छोरा अंकितलाई पनि बिना पूर्व तयारी फिल्ममा डेब्यू गराएका होइनन् । गत वर्षको दशैंमा आएको फिल्म ‘जय भोले’ मा उनले छोरालाई आफ्नो असिस्टेन्टको रुपमा राखेका थिए । केही महिना थिएटरमा अभिनय सिक्न पनि पठाए । फिल्ममा डेब्यू गर्नुभन्दा अगाडि अंकित निकै मोटा थिए । निर्देशक शर्माले जिम उठाएर छोरालाई सिक्स प्याक निकाल्न लगाए ।

छोरापछि छोरी कृतिलाई हिरोइन बनाउने तयारीमा रहेका निर्देशक शर्माले बुधबार ‘रातो टीका निधारमा’ को पहिलो गीत सार्वजनिक कार्यक्रममा छोरीलाई अभिनयमा इच्छा रहेको आफूले महशुस गरेको बताए । तर, सुरुमा छोरीलाई फिल्ममा ल्याउन आफूले निकै फकाएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले उनलाई फिल्ममा आउनका लागि धेरै फकाएँ । बल्ल मानेकी छन् ।’ घर फर्किन ढिला भएका कारण अंकितको अगाडि डेब्यू भएको बताउँदै उनले चाँडै छोरी पनि अभिनयमा आउने बताए । कृतिले पनि आफूलाई अभिनयमा इच्छा रहेको बताइन् । उनले भनिन्, ‘म यो इन्डस्ट्रीमा विल्कुलै नयाँ छु । त्यसकारण मलाई पहिला सिक्नु छ । यो इन्डस्ट्री कस्तो छ भनेर हेर्नु छ । त्यसपछि अभिनयमा आउन सक्छु ।’ सम्भवतः उनले अर्को वर्ष आफ्नै घरको फिल्मबाट डेब्यू गर्न सक्नेछिन् ।
Advertisement

प्रतिक्रिया