रेखा शाह जो एउटै गीतले चिनिइन्

विदुर खबर २०७४ फागुन २४ गते ११:१४

‘सिमसिमे पानीमा
ज्यानले बेइमान गर्छ कि
जिन्दगानीमा….।’
एउटा जमाना थियो, सिमसिमे पानीमाको । बिहे, कार्जे, भोज-भत्तेर जहाँपनि, जहिलेपनि घन्कन्थ्यो यो रोमान्टिक लोक धुन । सुन्दै नाँचौं, नाँचौं लाग्ने । गीतले २५ वर्ष तय गरेको छ । साथसाथै ‘सिमसिमे पानीमा’ फेम गायिकाको करियरले पनि । किनभने त्यही विन्दुबाट रेखा शाहले आफ्नो करियर सुरु गरेकी थिइन् ।

Advertisement

आजको ठ्याक्कै २५ वर्षअघि रेखा शाह रेडियो नेपालमा यो गीत रेकर्ड गराइन्, २०४९ सालमा । गाउँ (धादिङ)बाट काठमाडौं शहर छिरेकी किशोरी । उनले आफ्नै गाउँघरको भाका टिपिन, शब्द टिपिन र स्वरवद्ध गरिन्, सिमसिमे पानीमा । सन्दर्भ थियो, रेडियो नेपालबाट आयोजित देशव्यापी लोकगीत प्रतियोगिताको ।

जसै गीत रेडियोबाट घन्किन थाल्यो, एककान, दुई कान मैदान भयो । गाउँका मेलापातदेखि शहरका डिस्कोसम्ममा गीत प्रतिध्वनित भयो ।

Advertisement

त्यसबेला अहिलेजस्तो थिएन । गीत बजाउन अडियो क्यासेट चाहिन्थ्यो । वा, रेडियो नेपाल ट्युन गर्नुपथ्र्यो । न सिडीको चलन, न पेनड्राइभ । टेलिभिजनले अहिलेजस्तो व्यापकता पाएको थिएन । युट्युवको कल्पना नै थिएन ।

अहिले हिजोजस्तो छैन । अडियो क्यासेट डस्बिनमा थन्किएको छ । रेडियो नेपालको बर्चश्व देशभर खुलेका हजारौं एफएमले तोडेको छ । सिडी, भिसिडी पनि गीति संग्रहको ‘कर्मकान्डी’ माध्याम मात्र भएको छ । जमाना युट्युवको छ ।

Advertisement

अहिले सोशल मिडियादेखि युट्युवले भर्चुअल वल्र्डमा क्रान्ति ल्याएको छ । यसले प्रत्यक्ष लाभ पुर्‍याएको छ, गीत-संगीतलाई पनि । गीत सुन्ने मात्र होइन, हेर्ने पनि भइदियो ।

प्रविधिले ल्याएको यो रुपान्तरणलाई गायिका शाहले आत्मसात नगर्ने कुरै भएन । उनले वर्षौअघि गाएको गीतको भिडियो बनाइन् । आधुनिक स्टाइलमा ।

एउटै गीतको झंकार वर्षौसम्म

यस्तो सायदै हुन्छ, पहिलो पटक गाएको गीत नै कालजायी । यस्तो पनि सायदै हुन्छ, पहिलो पटक गाएकै गीतको वर्षौं-वर्षौं झंकार ।
रेखा शाहको हकमा भने त्यस्तै भइदियो ।

उनले पहिलो पटक गाएको गीत थियो, सिमसिमे पानीमा । यति गीत नै काफी भयो, उनको करियरको लागि । सिमसिमे पानीमा गीतका लागि रेडियामा स्रोताको फर्माइसहरु आइरहँदा रेखा भने, कोटेश्वरको डेरामा बस्थिन् । त्यहाँ फुपु थिइन् । रेखाको उमेर त्यस्तै १५, १६ वर्षको थियो ।

‘गीत हिट हुँदा म अहिलेजस्तो परिपक्क थिइन’ रेखा भन्छिन्, ‘न आफु हिट भएकोमा उन्माद थियो, न घमन्ड नै ।’

त्यसबेला पत्र-पत्रिकामा रेखाको रंगीन समाचार छापिन्थे । रेडियोमा गीत घन्किन्थ्यो । तर, उनले आफुलाई ‘सेलिब्रेटी’ भएको अनुभूत नै गरिनन् । डेरामा सामान्य जीवनयापन गर्थिन् । लुवाई-खुवाई सामान्य थियो ।

मिडियामा छापिन्थ्यो, फेसन सेन्स भएकी गायिका । रेखालाई लाग्दैनथ्यो, आफु फेसनेबल छु भन्ने । ‘म सकेसम्म मिलाएर लगाउने कोसिस गर्थे, अहिले पनि गर्छु’ रेखा भन्छिन्, ‘तर मिडियामा भनिएजस्तो फेसनेवल चाहि होइन ।’

फेसन र महिला शसक्तिकरण

एकपटक दरबारमार्गमा अनुराधा कोइरालासँग उनको जम्काभेट भएछ । कुरैकुरामा अनुराधा कोइरालाले भनिन्, ‘यो लेगिङ्स र टप्स लगाउँदैमा तपाई आधुनिक हुनुभयो भन्ने ठा्रन्नुहुन्छ ? आफ्नो लागि महिला शसक्तिकरणको खाँचो छैन भन्ने बुझ्नुहुन्छ ?’
रेखा शाह सोचमग्न भइन् । महिला शसक्तिकरणको प्रसंग चलिरहेको थियो ।

अनुराधा कोइरालको यो प्रश्नले उनलाई थप हल्लाइदियो, ‘तपाई आफ्नो बुढालाई नभनी घरबाट कतै निस्कन सक्नुहुन्छ ?’

कोइरालाकै भाषामा अक्सर पत्नीहरु घरबाट बाहिर निस्कनका लागि पतिबाट ‘स्विकृति’ माग्नुपर्ने हुन्छ । जबकी पतिहरुले घरबाट बाहिर निस्कनका लागि पत्नीसँग ‘स्विकृति’ माग्दैनन्, ‘जानकारी’सम्म गराउँछन् ।

यो कुरा रेखालाई किनपनि घतलाग्यो भने, उनी स्वंम ‘जेन्डर स्टडी’का विद्यार्थी । रेखाले गायनसँगै पढाईलाई पनि समानन्तर अगाडि बढाइन् । रेखाले जेन्डर स्टडीमा मास्टर्स डिग्री गरेकी छिन् । यसबीचमा उनले अनुभूत गरेकी छिन्, सेलिब्रेटीको आवरणभित्र एउटी महिला भएर बाँच्नु कति गाह्रो छ भन्ने कुरा ।

किनभने, त्यही महिला हो, जसले आफुलाई अनेक भूमिकामा बाँध्नुपर्ने हुन्छ । आमाको । पत्नीको । बुहारीको ।

यी अनेक भूमिकामा बाँच्दा उनले आफुमा महिला हुनुको पीडा गहिरोसँग अनुभूत गरेकी छिन् । रेखा भन्छिन्, ‘चाहे त्यो सेलिब्रेटी नै किन नहोस्, महिलाहरुलाई समाज र संसकारले भित्रभित्रै दबाएर राखेको छ ।’

र, एउटा संयोग

रेखाले आफ्नो आवाजमा ‘सिमसिमे पानी’लाई फेरी २५ बर्षपछि दोहोर्‍याउँदैछिन्, स्टेजमा । दरबारमार्गस्थित होटल याक एन्ड यतिको प्रेक्ष्यालयमा उनले ‘सिमसिमे पानीमा’ गाउने भएकी हुन् । र, यसका लागि अवसर जुराइएको छ, अन्तर्राष्ट्रिय नारी दिवसको ।

सांगीतिक यात्राको रजत जयन्तीको अवसर छोप्दै रेखाले आफ्ना चर्चित गीतहरु पेश गर्नेछिन् । उनले समग्र नारीहरुको सम्मानर्थ एकल सांगीतिक प्रस्तुती दिन लागेको बताएकी छिन् ।

शास्त्रीय संगीतमा सिनियर डिप्लोमा गरेकी रेखाको द लाइन, आकृति, स्मृति जस्ता एल्बम बजारमा आइसकेको छ ।

प्रतिक्रिया