बेडसिन कथाको माग : बेनिशा हमाल

विदुर खबर २०७६ असार ३० गते २०:१०
नेपालमा हरर जनरा फ्लप मानिन्छ । किनकि, आजसम्म नेपालमा बनेका कुनै हरर जनराका फिल्मले न दर्शक सन्तुष्ट बनाउन सकेका छन् न त राम्रो पैसा छाप्न नै । यसकारण पनि हत्तपत्त यो जनरामा फिल्म बनाउने जोखिम उठाउँदैनन्, निर्माताहरु । तर, निर्देशक अर्पण थापा भने दोस्रो पटक हरर जनराको फिल्म लिएर आउँदैछन्, ‘घर’ । यो फिल्म साउन ३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मका लेखक, कलाकार तथा निर्देशक अर्पण स्वयं हुन् ।
फिल्ममा अभिनेत्री द्वय सुरक्षा पन्त र बेनिशा हमालको पनि प्रमुख भूमिका छ । यस फिल्मको डरलाग्दो ट्रेलरले धेरैको ध्यान खिचेको छ । एकपछि अर्को नेपाली हरर फिल्मले दर्शकलाई निराश बनाइरहेको अवस्थामा ‘घर’ माथि धेरैको निकै ठूलो अपेक्षा छ । पहिलो पटक हरर जनराको फिल्म गरेकी ‘नेसनल अवार्ड विनर’ अभिनेत्री बेनिशालाई यो फिल्मको कन्टेन्टमाथि पूरा विश्वास छ । उनी फिल्मले दर्शक तर्साउन सफल हुनेमा ढुक्क छिन् ।
उक्त फिल्ममा उनले आफ्नो लुक्समा पनि परिवर्तन ल्याएकी छन् । कपाल पूरै खैरो बनाएकी छन् भने नाकमा सानो आकारको बुलाकी लगाएकी छन्, जुन ट्रेलरमा पनि देख्न सकिन्छ । लुक्स परिवर्तन गर्नुको कारण स्क्रिप्टको डिमान्ड रहेको उनको भनाई छ । उनी भन्छिन्, ‘निर्देशक (अर्पण थापा) ले मेरो क्यारेक्टर यस्तो खालको हुनुपर्छ भनेर जुन प्रकारको कल्पना गर्नुभएको थियो त्यसलाई मैले उतार्ने प्रयास मात्र गरेको हुँ ।’
सम्भवतः पहिलो पटक उनले फिल्ममा बेडसिन पनि दिएकी छिन् । फिल्म ‘घर’ मा अभिनेता अर्पण थापासँग उनको बेडसिनलाई ट्रेलरमा पनि स्थान दिइएको छ । प्रायः पर्दामा सोझी युवतीको भूमिका निभाउँदै आएकी उनी यो फिल्ममा आफूले दिएको बेडसिन कथाको माग रहेको बताउँछिन् । कलाकार भएपछि सीमित क्षेत्रमा बाँधिनु नहुने तर्क राख्दै उनले फरक-फरक भूमिका निभाउनु आफैंका लागि पनि ‘एक्सपिरियन्स’ हुने बताइन् ।
‘घर’ मा तपाईंको बेडसिन दर्शकलाई पाच्य होला ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छिन्, ‘म फरक-फरक भूमिका गर्न रुचाउँछु । यो आफ्नो लागि ‘एक्सपिरियन्स’ पनि हो । र, फरक-फरक क्यारेक्टर गरेर दर्शकलाई कन्भिन्स गर्न सक्छु कि सक्दिनँ भन्ने एउटा कलाकारका लागि च्यालेन्ज पनि हो । जहाँसम्म बेडसिनको कुरा छ, ‘घर’ कस्तो खालको बनेको छ र मैले निभाएको क्यारेक्टरले त्यो गर्दा दर्शक कन्भिन्स हुन्छन् कि हँदैनन् भन्ने कुरा महत्त्वपूर्ण हो ।’
‘घर’ भित्रको बेडसिनमा दर्शकले आँखा छोप्नु नपर्ने उनको भनाई छ । अभिनेत्री हमालले आफूले बग्रेल्ती फिल्म नगर्नुको कारण पनि खुलाउन भ्याइन् । ‘फिल्म अफर त्यस्तो धेरै आउने पनि होइन । र, आएका अफरहरुमा पनि छानेर गर्दा संख्यात्मक हिसाबले कम हुन गएको हो’, उनले भनिन् । उनले आफूले ‘स्टेरियोटाइप’ ब्रेक गर्न चाहेको पनि बताउँछिन् । हरर फिल्म रुचाउने नेपाली दर्शकको ठूलो संख्या ‘घर’ हेर्न हलसम्म पुग्नेमा उनी विश्वस्त छिन् ।
उनले यो फिल्ममा भूतको भूमिका निभाएकी छन् । उनको आत्मा अभिनेत्री सुरक्षा पन्तको शरीरमा प्रवेश गरेपछि आउने घटनाक्रममा यो फिल्म आधारित छ । उनी यो फिल्म हरर जनरा भएका कारण नभएर मेकर्सका कारण काम गर्न बढी उत्साहित भएको बताउँछिन् । फिल्म अफर आउँदाको क्षण सम्झिँँदै उनी भन्छिन्, ‘हरर जनराको फिल्मबाट अफर आउँदा भन्दा पनि निर्देशकमा अर्पण थापा र निर्मातामा दीपेन्द्र के. खनालबाट अफर आउँदा चाहिँ बढी उत्साहित भएको थिएँ ।’
साभार फिल्मी खबर

प्रतिक्रिया