रोमान्स गर्न रमितले पाए हिरोइन

विदुर खबर २०७६ असार ३० गते २०:०९
नेपाली फिल्ममा राम्रो दबदबा बनाएको समयमा अभिनेता रमित ढुंगानासँग अनस्क्रिन रोमान्स गर्न अभिनेत्रीहरु मरिहत्ते गर्थे । त्यसबेला उनीसँग काम गरेपछि करिअरले गति लिने विश्वास व्याप्त थियो ।
तर, अहिले उनको जोडी बन्न चिनिएका अनुहार त टाढाको कुरा नयाँ युवती समेत हत्तपत्त तयार हुँदैन । किनभने, पछिल्लो समय रमितको क्रेज शून्य बराबर छ । जसकारण उनीसँग काम गरेपछि करिअर सम्हालिने भन्दा भत्किने पिरलो बढी हुन्छ । अभिनेता रमितले पछिल्लो पटक अभिनय गरेको फिल्म ‘बुद्ध वर्न इन नेपाल’ हो । यसमा उनी आफैंले लगानी गरेका थिए । तर, फिल्मले हलमा पानी भन्न पाएन । उनी पुनः नयाँ फिल्म बनाउँदैछन् । यसबीच, उनले गएको केही महिना अगाडि नयाँ ब्यानरको फिल्म ‘राजा साहेब’ साइन गरे । यसमा उनले १८ लाख पारिश्रमिक बुझेको चर्चा छ । तर, यसलाई सत्य मान्ने आधार छैन । एग्रिमेन्ट पेपर गोप्य राखिएको छ ।
निर्माण टिमले लामो समयदेखि फिल्ममा रमितको अपोजिटका लागि अभिनेत्री खोजिरहेको थियो । चलेका हिरोइनदेखि नयाँ युवतीसम्म अफर पुग्यो । तर, कसैले रमितको हिरोइन बन्ने इच्छा देखाएनन् । अन्ततः निर्माण टिमले उनको अपोजिटमा दुई नयाँ अनुहार भित्राएको छ । फिल्म ‘चौका दाउ’ मा आइटम डान्स गरेकी सोनिका केसी र लामो समयदेखि मोडलिङ गरिरहेकी आइशा राई ‘राजा साहेब’ मा पक्का भएका छन् ।   यसअघि यो फिल्ममा अभिनेत्रीका लागि फिल्म ‘रणवीर’ की अभिनेत्री सुपुष्पा भट्टलाई अफर गरिएको थियो । उनले आफ्नो परिक्षाका कारण फिल्म रिजेक्ट गरेको बताएकी थिइन् । तर, उनले रमितसँग जोडी नसुहाउने भएका कारण फिल्म छाडेको चर्चा फिल्मवृतमा छ । अब, रमितले सोनिका र आइशासँग जोडी बाँध्नेछन् । विचल किराती राईको निर्देशन रहने फिल्ममा जयकिसन बस्नेत, प्रज्जवल गिरी, पुष्कार रेग्मीलगायतको पनि अभिनय रहनेछ ।
साभार फिल्मी खबर

प्रतिक्रिया