‘म यस्तो गीत गाउँछु २’मा बाँधियो पूजा र पलको जोडी

विदुर खबर २०७६ असार २५ गते ४:००
नवाकोट असार २५, गएको दुई वर्ष अगाडि घोषणा गरिएको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहको जोडी बाँधिएको छ ।
मनछुने लभस्टोरी फिल्म बनाउन सिपालु निर्देशक सुदर्शन थापा र अभिनेता पलको सम्बन्ध विग्रिएपछि ‘म यस्तो गीत गाउँछु २’ बन्न नसकेको चर्चा लामो समयदेखि फिल्मवृतमा चल्दै आएको थियो । निर्देशक थापाले अभिनेता अनमोल केसीलाई यो फिल्म अफर गरेको खबर समेत बाहिरिएको थियो । अन्ततः बजारका सबै हल्लाहरुलाई चिर्दै दोस्रो पटक निर्देशक थापाले ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको जोडी बाँधेका छन् । मंगलबार बिहान फिल्मको मनकामना मन्दिरमा शुभ मुहूर्त गरिएको छ । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेत्री शर्मा र अभिनेता पल उपस्थिति थिए । दशैंपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । यो फिल्मको गीतमा संगीत भर्ने जिम्मा अर्जुन पोखरेलको काँधमा छ । ‘प्रेमगीत’ पछि सुदर्शनको हरेक फिल्ममा अर्जुनले संगीत भर्दै आएका छन् ।
फिल्मलाई सौरभ लामाले खिच्नेछन् । पूजा र पलबाहेक फिल्ममा अरु कलाकार फाइनल नभएको निर्देशक सुदर्शन थापाले जानकारी दिए । उनले ‘म यस्तो गीत गाउँछु २’ को घोषणा गएको दुई वर्ष अगाडि आफ्नो जन्मदिनमा गरेका थिए । त्यसबेला फिल्ममा पल र पूजासँगै सलोन बस्नेतको पनि अभिनय रहने बताइएको थियो । तर, फिल्मको मुहूर्त समारोहमा सलोन देखिएनन् । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा यो फिल्म बन्नेछ ।
निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल नयाँ कथामा बन्ने बताएका छन् । फिल्म लभस्टोरी कथामा निर्माण हुनेछ । आउँदो फागुन २३ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्मको अघिल्लो श्रृंखलाको गीतसंगीत निकै चर्चित भएका थिए । पल र पूजाको जोडीलाई पनि दर्शकले निकै रुचाएका थिए । अब, दोस्रो पटक दुईलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । फिल्मको मुहूर्त समारोहमा दुईबीच गजबकै आत्मीयता देखिएको थियो ।

प्रतिक्रिया